साइकल सिटी पोखराको अध्यक्षमा कोइराला

 

पोखरा, भदौ २८ ।

साइकल सिटी पोखरको आठौं साधारण सभा तथा चौथो अधिवेशनबाट महेन्द्रराज कोइरालाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । पोखरामा शुक्रवार साँझ सम्पन्न अधिबेशनकाट समितिको उपाध्यक्षमा अभिषेक कोइराला, सचिवमा करुण ढकाल, सहसचिवमा कपील सिग्देल र कोषाध्यक्षमा जय गुरुङ चयन भएका छन् ।

यसैगरि समितिका सदस्यमा नवराज थापा, राजन गोंगजु, कमल नेपाली, रक्से लामा र टोक्केल शेर्पा चयन भएको निर्वाचन अधिकृत प्रकाश बरालले जानकारी दिए ।

यस अघि साइकल सिटी पोखराका अध्यक्ष प्रकाश बज्राचार्यको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले साइकल सिटी पोखराले साइकल पर्यटनको माध्यमबाट पर्यटन प्रवद्धन र वातावरण संरक्षणमा महत्वपूर्ण भूमीका खेल्दै आएको बताए । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै साइकल पर्यटन विकास र सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम अघि बढाउन नयाँ कार्यसमितिलाई उनले सुझाव दिए ।

२०६९ पुस १७ मा स्थापना भएको यस संस्थाले पर्यटन विकास र प्रवद्र्धनका लागि पोखरा राराताल, मुक्तिनाथ, लुम्बीनी, हेटौँडा, सौराहा लगायतका क्षेत्रमा पुगेर पर्यटन प्रवद्र्धनका कार्यक्रम गरेको बज्राचार्यले जानकारी दिए । स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ यस्ता कार्यक्रम आयोजना गरिएको उनले बताए ।

साइकल सिटी पोखराको पहलमा पोखरा महानगरपालिकाको १४ स्थानमा २१ वटा साइकल स्ट्याण्ड निर्माण भइसकेको नवनिर्वाचित अध्यक्ष कोइरालाले जानकारी दिए ।

नेपाल सरकार पर्यटन कार्यालय पोखराको सहयोगमा साइकल स्ट्याण्ड निर्माण भएको हो । पोखरामा पछिल्लो समयमा साइकल प्रति आकर्षण बढ्दै गएको छ । पोखरामा दैनिक १५ सय देखि २ हजारको हाराहारीमा दैनिक साइकल चलाइने बताइएको छ ।