सांसद विष्टले भनेः अहिले संकट छ, मिलेर टारौं

पोखरा, बैशाख २५ ।
उपल्लो मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले कोरोना नियन्त्रणमा जुट्न आफ्नो क्षेत्रका नागरिकसँग अपिल गरेका छन् । उनले संकटको नियन्त्रणका लागि तोकिएको मापदण्ड अनुसार आइसोलेसन क्वारेन्टिन निर्माण गर्न आग्रह गरे ।

‘बिश्वास छ, यहाँहरु सबै सन्चो आराम हुनुहुन्छ । विश्वभर फैलिएको कोरोना भाईरस हाम्रो जिल्लामा पनि प्रवेश गरेकोमा म भन्दा बढी यहाँहरु जानकार हुनुहुन्छ । आज विश्व समुदाय संकटको घडीमा छ । हामी त्यसको साक्षी मात्र होईन, पीडित नै भैरहेका छौं,’ शनिबार एक विज्ञप्ती जारी गरि उनले भने, ‘संक्रमणकै कारण लामो समयदेखि म तपाईंहरुसँग भेट्न सकिरहेको छैन, तपाईंहरुले बुझिरहनु भएको छ । कोभिड महामारीको सामना गर्न सबै जनप्रतिनिधिहरु, पार्टी पंक्ती र युवा साथीहरु स्वयंसेवी भावनाका साथ खट्न आह्वान गर्दछु ।’

उनले स्थानीय तहसँगको समन्वय र स्वास्थ्यकर्मीको निर्देशनमा क्वारेन्टिन निर्माण र त्यसको सहि उपयोग गर्न सुझाए । ‘बाहिरबाट जिल्ला र गाउँ भित्रिएका तथा संक्रमणको आशंका भएका व्यक्तिहरुलाई क्वारेन्टिनमा सुरक्षित राख्नुहोला । स्वास्थ्य मापदण्डको पालना गर्न÷गराउन, यसको अनुगमन गर्न तथा संक्रमितहरुलाई आवश्यक सहयोग पुर्याउन योजनावद्ध र सक्रिय रुपले लाग्न विनम्रताका साथ अनुरोध गर्दछु,’ उनले थपे, ‘साथै पोखरा र गाउँमै पनि आवश्यक सहयोगका लागि म सँधै तत्पर छु ।’