सांसद विन्दु थापालाई मार्ने धम्की सहित पैसा माग्ने ४ पक्राउ (पढ्नुस् विस्तृतमा)

प्रकाश ढकाल
पोखरा, माघ १७ ।
कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापालाई ज्यान मार्ने धम्की दिएका ४ जना पक्राउ परेका छन् । मुख्य योजनाकार स्याङजा टक्सारका नरबहादुर गुरुङ (शंकर) सहित अन्य ३ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग मुद्धामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ । २ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न नम्बरबाट धम्क्याएका थिए । थापाले ज्यानको सुरक्षा माग गर्दै १ महिना अघि नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
‘पुस १५ देखि निरन्तर धम्की आईरहेको थियो । दिनमा ५ पटकसम्म फोन आउँथ्यो, थापाले डिएनए नेपाल डटकमसँग भने–त्यसपछि मैले प्रहरीमा उजुरी दिएको हुँ ।’ उनका अनुसार मनोज पुनको नाम लिएर तिनीहरुले फोन गरेका थिए । ‘मनोज पुनको मान्छे हुँ भन्दै बुटवलको घटना दोहोरिएला भनेर धम्क्याउँथे । कहिले नेपालबाट कहिले भारतबाट फोन आईरह्यो, थापा भन्छन्–एउटै मान्छे भारत पुगेर फोन गर्ने अनि नेपाल फर्किने गरेको रहेछ । प्रहरीले अनुसन्धान गरिरहेको छ ।’ घटनाबारे थप अनुसन्धान चलिरहेकाले विहिबार सबै तथ्य सार्वजनिक गर्ने कास्की प्रहरीका प्रमुख अशोक सिंहले जानकारी दिए । घटनामा संलग्न अरु तीनजनाको भने नाम खुलेको छैन । श्रोतका अनुसार संलग्नमध्ये ३ जना स्याङजा टक्सारका र १ जना चाहीँ पर्वतका हुन् ।
थप विवरण आउँदै