सांसद मनाङेलाई तीन बर्ष कैद (यस्तो छ प्रावधान)

काठमाडौं, बैशाख ६ ।
विहिबार पक्राउ परेका डन पुष्ठभूमिका सांसद दीपक मनाङे (राजीव गुरुङ) तीन वर्ष जेल बस्नुपर्ने भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा उनलाई ५ वर्ष जेल सजाय भएकोमा उनी २ वर्ष मात्र जेल बसेका छन् । गत २ माघमा सर्वाेच्च अदालतका न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) को फैसला सदर गरेपछि उनी फरार भएका हुन् ।

पुनरावेदन अदालतले ०६९ सालमा मनाङेलाई दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो भने ज्यान मुद्दाका अन्य चार अभियुक्त रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामालाई भने सफाइ दिएको थियो । पुनरावेदनले मनाङे बाहेकलाई सफाइ दिएपछि त्यस विरुद्ध सरकारले ०७० जेठ १० गते पुनरावेदन गरेको थियो ।

अन्य प्रतिवादीको हकमा पुनरावेदन दर्ता भए पनि मनाङेले गरेनन् । सर्वोच्चले पुनरावेदनको निर्णय सदर गर्ने फैसला सुनाएपछि उनी पुरानै आदेश अनुसार स्वतः दोषी ठहर भएका थिए । मनाङेले पुनरावेदन गरेमा सफाइ पाउने वा दोषी ठहर हुने कानुनी बाटो भने बाँकी नै छ । उनले जेलमा बसेर पुनरावेदन गर्न पाउनेछन् ।

जिल्ला अदालत काठमाडौंले मनाङेलाई दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाएको थियो ।

जिल्ला अदालत काठमाडौंले मनाङेलाई दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाएको थियो । तत्कालीन समयमा उनले सो अवधिको सजाय काटिसकेका छन् । सर्वोच्चको फैसलापछि मनाङेले अब ३ वर्ष जेल सजाय भोग्नुपर्नेछ ।

कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद भुक्तान हुने प्रावधान छ । जसअनुसार उनी कम्तीमा १५ महिना जेलमा बस्नुपर्ने हुन्छ । पक्राउ परेका मनाङेलाई शुक्रबार अदालतमा पेश गरिने काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए ।

१२ वर्षअघि प्रतिद्वन्द्वी गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनाएको घटनामा उनीविरुद्ध मुद्दा दायर भएको थियो । सोही मुद्दामा उनी पक्राउ परेका हुन् । मनाङ प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका मनाङेले सांसदको सपथ लिन पाएका थिएनन् । प्रदेशसभा सांसदको सपथ समारोहका समयमा उनी फरार नै थिए ।