सांसद नै अध्यक्ष भएको स्कूल झन् भद्रगोल, हिसाव खोज्दै विद्यार्थीको विरोध

पोखरा, साउन ३१ ।
जनयुद्धका घाईते, शहीद र बेपत्ताका छोराछोरीलाई पढाउनका लागि १० बर्षअघि पोखरा १४ मझेरी पाटनमा एउटा स्कुल खुल्यो । २०६६ सालमा खुलेको शहीद स्मृति आवासिय विद्यालयमा जनयुद्धबाट पीडित भएका छोराछोरी मात्रै पढ्छन् । तत्कालीन नेकपा माओवादीको सरकार हुँदा खुलेको स्कुलमा विद्यालय ब्यवस्थापन समिति समेत दलकै ठूला नेताहरु बस्छन् ।

हाल विद्यालयको अध्यक्षमा नेकपाका नेता तथा गोरखा क्षेत्र नम्बर १ का निर्वाचित सांसद हरिराज अधिकारी छन् । ७ बर्षदेखि समितिको अध्यक्ष भएर जिम्मेवारी लिएको उनले बताए । पीडित परिवारलाई शिक्षाबाट बञ्चित हुन नदिन तत्कालीन ५ वटै विकास क्षेत्रमा शहीद स्मृति विद्यालय छन् । एमाले र माओवादीको पार्टी एकीकरणपछि अहिले अधिकांश विद्यालयमा विवाद सुरु भएको छ ।

मझेरीपाटनको स्कुलमा पनि एमाले निकटका कर्मचारीलाई जागिर दिन लागिएपछि तनाव सुरु भएको छ । विद्यार्थीहरुले तालाबन्दी नै गरेर आनदोलन चर्काएका छन् । समस्या समाधान गर्नका लागि गण्डकी प्रदेशका गृहमन्त्री हरिबहादुर चुमान सहितका नेताहरु बुधबार विद्यालयमा पुगेका थिए । तर विषयबस्तु नटुंगिएको भन्दै विद्यार्थीहरु झन् आक्रोसित भएका छन् । बिहीबार पनि विद्यार्थीहरुसँग बसेर छलफलगर्ने कार्यक्रम रहेको एक विद्यार्थीले जानकारी दिए ।

माओवादीका पीडित परिवारका छोराछोरीले मात्रै पढ्ने र उनीहरुलाई नै जागिर दिने स्कुलमा अहिले साविक एमालेका कर्मचारी भित्र्याउन खोजेको केही विद्यार्थी र अभिभावकहरुको आरोप छ । विद्यालयमा कार्यरत कर्मचारी अनिता विक र निर्मला रेग्मीलाई निकाल्न लागिएको भन्दै विद्यार्थीहरु एकजुट भएर बिरोध जनाएका हुन् । केही दिन अघि उक्त विद्यालयमा होमनाथ सिंखडा शिक्षक बनेर प्रवेश गरिसकेका छन् । उनी माओवादीकी पूर्व सांसद दुर्गा विकको सिफारिसमा विद्यालयमा जागिर लगाईएको श्रोतले बतायो ।

यो संगै विद्यार्थीहरुले विद्यालयको हरहिसाव पनि खोज्न थालेका छन् । विद्यालय सञ्चालन गर्न २०६४ सालमा निर्वाचित यस क्षेत्रका २६ जना सांसदले निर्वाचन क्षेत्र विकासको रकम एक करोड रुपैँया जम्मा पारेका थिए । संकलित रकम माओवादी निकटका नेताहरुले माछापुच्छ्रे सहकारीमा जम्मा गरे । सोही रकमबाट गण्डकी मिडिया हाउस सञ्चालनमा ल्याईयो । मिडिया खोल्नका लागि स्कुलको पैसा लगानी भएको भन्दै विद्यार्थीहरुले तत्काल सावा ब्याज सहितको रकम फिर्ता गर्न दवाव दिएका छन् ।

यता अध्यक्ष हरिराज अधिकारी भने विद्यालयको वातावरण विगार्ने खेल सुरु भएको तर्क गर्छन् । ‘विद्यालयको शैक्षिक, भौतिक सबै पक्ष राम्रो छ । विप्लब जी, मोहन बैद्य दाईहरुको पार्टीको पनि प्रतिनिधी हुनुहुन्छ, उनले भने–विचार नमिलेको हो । अहिले तातेकाहरु अलि सेलाएपछि छलफल हुन्छ ।’