सांसद दवाडी प्राविधिकसँगै फित्ता लिएर सडक नाप्दै

पोखरा, मंसिर २४ ।
प्रदेश सरकारले बजेट बिनियोजन गरेको सडकको सर्भे गर्न गण्डकी प्रदेशका सांसद प्रकासचन्द्र दवाडी आफै सडकमा खटिएका छन् । चालु आर्थिक बर्ष प्रदेश सरकारले बजेट बिनियोजन गरेको भच्चेक हुदै खरिबोट जाने सडक र सिम्जुङबाट घ्याच्चोक जाने सडकको सर्भे गर्न सांसद दवाडी शनिबार र आइतबार सडक कार्यालयका इञ्जिनियरको टोलीसंग दिनभरि फिता लिएर सडकमा सरिक भएका हुन् ।

प्रदेश सरकारको कामलाई तिब्रता दिन र पारदर्शी बनाउन प्राविधिकको साथमा आफै खटेको सांसद दवाडीले जानकारी दिए । ‘आफै खटेपछि कामले तिब्रता पाउँछ’, सांसद दवाडीले भने, ‘प्रत्यक्ष रुपमा म स्वयं खटेपछि खर्च पारदर्शी पनि हुन्छ त्यसैले दुईदिन म त्यही काममा खटिएँ ।’

सिम्जुङबाट घ्याच्चोक हुदै धन्सिरासम्म जाने सडकलाई प्रदेश सरकारले ७५ लाख र भच्चेकबाट घ्याच्चोक जाने सडकलाई ७५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । सो रकमले स्तरोन्नती अन्तर्गत यसबर्ष आवश्यक ठाउँमा कल्भर्ट बनाउने, ह्यूमपाइप राख्ने, पानी कटाउन नाली बनाउने र सम्भव भएसम्म ग्राभेलसमेत गर्ने योजना रहेको उनले बताए ।