सांसद दवाडीले भनेः भ्रम फैलाईयो, चरित्र हत्या भो

पोखरा, जेठ २५ ।
गण्डकी प्रदेशसभा सांसद प्रकाशचन्द्र दवाडीले औषधीको विषयलाई लिएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन् । मंगलबार एक विज्ञप्ती जारी गरि उनले डस्टविनमा फालिएका औषधीको फोटो खिचेर राजनीतिक प्रतिशोध साट्न लागिएको बताए । उनले जेठ २४ गते गोरखाको बारपाक सुलिकोट गाउँपालिका स्थित सौरपानी र रन्चोक स्वास्थ्य चौकीमा वितरण गरेको औषधीमध्ये केहि म्याद गुज्रिएको भेटिएको थियो । तर उक्त म्याद गुज्रिएका औषधी तत्कालै स्वास्थ्य कर्मी र जनप्रतिनिधिले डस्टविनमा फालेका थिए ।

केहि व्यक्तिहरुले त्यो औषधीको फोटो खिचेर सामाजिक सन्जालमा पोष्ट गरेको भन्दै सांसद दवाडीले भत्र्सना गरेका छन् । ‘गाउँ बाहिर भएका हामीहरुले सल्लाह गरेर स्वास्थ्य चौकी मार्फत औषधी र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन थाल्यौं । नागरिकहरु छटपटाईरहेका बेला म पनि चुप बस्न सकिनँ र उनीहरुको सेवामा खटिएको स्पष्ट गराउन चाहान्छु,’ उनले भनेका छन्, ‘देश विदेशमा बसोबास गर्ने विभिन्न सहयोगी मनहरुबाट औषधी संकलन गरि मिति जेठ २४ गते बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको स्वास्थ्य चौकी र ४ कै रन्चोक स्वस्थ्य चौकि लगायतका स्वास्थ्य संस्थामा वितरण गरिएको थियो । हतारोमा औषधी किनेर उपलब्ध गराईएकोमा स्वास्थ्य कर्मी र वडाध्यक्षको रोहवरमा रुजु गर्दा दुईवटा स्वास्थ्य चौकीमा वितरण गरिएको केहि औषधीहरु म्याद गुज्रिएको पर्न गएको त्यसलाई डिस्पोज गरिसकिएको जानकारी गराउँदछु ।’

उनले डिस्पोज गरेको औषधी निकालेर आफ्नो चरित्र हत्या गर्ने गरि सामाजिक सन्जालमा पोष्ट गरिएको आरोप लगाए । ‘फालिएको औषधी डस्टविनबाट झिकेर राजनीतिक पुर्वाग्रह राखेर फोटो खिचेर गलत मनसायले सामाजिक सन्जालमा पोष्ट गरिएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘जनताको स्वास्थ्य माथी जानाजान खेलवाड गर्नु अपराध हो । म्याद गुज्रिएको औषधी वितरण गर्नु अघि नै रुजु गरेर डिस्पोज गरिएको छ । राजनीतिक पुर्वाग्रहका आधारमा जनतासामु भ्रम छरेकोमा सम्बन्धीत पक्षप्रति खेद प्रकट गर्दै यस्ता भ्रमको पछि नलाग्न सम्पूर्णमा अनुरोध गर्दछु ।’

दवाडीले औषधीहरु घरघरमा नभई स्वास्थ्य चौकीमा वितरण गरिएको बताए । ‘सामाजिक सन्जालमा घरघरमा औषधी वितरण गरिएको भनि कु–प्रचार गरिएको छ । घरमा एउटा पनि औषधी वितरण भएको छैन,’ उनी भन्छन्, ‘भ्रम सिर्जना गर्ने र चरित्र नै हत्या गर्ने मनसायले यसरी गरिएको कु प्रचारको घोर विरोध र भत्र्सना गर्दछु । साथै सम्बन्धित व्यक्तिलाई पक्राउ गरि कानूनी कारबाहीका लागि प्रशासनसँग आग्रह गर्दछु । यो राजनीति गर्ने बेला होईन, जनताको ज्यानको रक्षा गर्ने समय हो ।’ उनले दुखका बेला सहयोगमा जुट्न सबैसँग अपिल पनि गरेका छन् । सांसद दवाडीले कोभिड १९ संक्रमण फैलिन थालेपछि औषधी र स्वास्थ्य सामग्रीहरु गाउँगाउँमा पुगेर स्वास्थ्यकर्मी मार्फत सहयोग गर्दै आएका छन् ।