सांसद दवाडीले गरे विद्यालयलाई डेढलाख सहयोग

पोखरा, मंसिर ३० ।
निर्वाचन क्षेत्र भ्रमणको क्रममा रहेका गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले साविक स्वाँरा गाविसका दुई विद्यालयलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । बारपाक सुलीकोट गाउँपालिका ३ को माझथर माविमा कक्षा ११ र १२ सञ्चालनका लागि एकलाख ११ हजार एकसय ११ रुपैयाँ र शिम्भू आधारभुत विद्यालय स्वाँराको शैक्षिक स्तरोन्नतिका लागि ५० हजार रुपैयाँ सहयोग घोषणा गरेका हुन् ।

‘उत्तरी क्षेत्रमा पढाईको समस्या चर्को छ । बालबालिकाहरु बडो दुखका साथ पढिरहेका छन् । गुणस्तरीय शिक्षा छैन । शिक्षक पनि पर्याप्त छैनन्,’ उनले भने, ‘अव अभियानकै रुपमा यसको स्तरोन्नती आवश्यक छ । सरकार र अन्य सामाजिक ब्यक्तिहरुले पनि यसमा हातेमालो गरिदिन आग्रह गर्दछु ।’

सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा सांसद दवाडीले विद्यालयलाई सहयोगको घोषणा गरेका हुन् । शिम्भु प्राविमा आयोजित कार्यक्रममा दुर्गमका बालबच्चालाई शिक्षा दिइरहेको सो विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको उनले सुनाए ।

विद्यालयको विकासका लागि यस्तो सहयोगले थप उर्जा प्राप्त हुने नेबिसंघ अजीरकोट गाउँपालिका कमिटीका सभापति प्रवीण गुरुङले बताए । दवाडीले आफ्नो सांसदबापत राज्यबाट प्राप्त हुने तलव र भत्ता सबै सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए ।