सहारा एकेडेमीलाई आर्थिक सहयोग

पोखरा, कार्तिक २० ।
सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई समाजसेवी मनकारीले आर्थिक सहयोग गरेका छन् । जर्मनीमा बस्दै आएकी पत्रकार सुजिता शाही र मोरक्कोका नागरिक एनस बेकालीले संयुक्त रुपमा १ लाख रुपैयाँ सहयोग गरेका हुन् । उनीहरुले आइतबार एकेडेमीमा पुगेर सहारा क्लवका अध्यक्ष केशव थापालाई रकम हस्तान्तरण गरे ।
क्लवले गरेको सामाजिक कामलाई सघाउन सहयोग हस्तान्तरण गरेको शाही बताउँछिन् । ‘आमा बाबु नभएको बालकलाई अभिभावकत्व दिनु सहज छैन, उनले भनिन्–क्लवले पुण्य काम गरेको छ । त्यसमा केही सहयोग मैले पनि थपेको हुँ ।’ उनले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन् ।
शाहीले पोखरामा रहेको तमु प्रतिष्ठानलाई पनि सोही अवसरमा २५ हजार नगद हस्तान्तरण गरेकी छिन् । सहारा युकेका संस्थापक अध्यक्ष तथा क्लवका मानार्थ सदस्य नवीन गुरुङको पहलमा शाही पोखरा आइपुगेकी हुन् ।
सहयोग ग्रहण गरेपछि क्लवका अध्यक्ष थापाले मनकारीकै मायाले एकेडेमी चलेको भन्दै थप सहयोगको अपेक्षा गरेको बताए । क्लवले २०६१ सालदेखि एकेडेमी निरन्तर एकेडेमी सञ्चालन गरिरहेको छ । हाल एकेडेमीमा देशका विभिन्न १६ जिल्लाका २८ जना कठिन परिस्थितीका बालकहरु आश्रित छन् ।