ससुराली हिडेका थबाङ गाउँपालिका प्रमुखको अपहरण

रोल्पा, भदौ ३० ।
रोल्पाको थबाङ गाउँपालिका प्रमुख बीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेका छन् । रातको साढे ११ बजे थबाङ गाउँपालिका वडा नम्बर २ कोईजबाङ ससुराली जाँदै गर्दा उनी अपहरणमा परेका हुन् ।
प्रमुख घर्ती श्रीमतीसँगै ससुराली जाँदै गर्दा अपहरणमा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । १०र१२ जनाको समूहले उनलाई अपहरण गरेको बताइएकोे छ । नेकपाका कार्यकर्ताले अपहरण गरेको प्रहरीले आशंका गरेको छ । नेकपाले भने आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।
तीनदिन अघि नेकपाले थबाङमा संगठन सुदृढिकरण र प्रतिरोध कार्यक्रम गरेको थियो । घर्ती अपहरणमा परेको सूचना पाएपछि खोजी कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । उनका अनुसार थबाङ इलाका प्रहरी कार्यालय र छिमेकी प्रहरी चौकीबाट राति नै प्रहरी खोजीमा निस्किएका छन् ।
शहिदमार्ग टिलाबाट सशस्त्र प्रहरीको टोली पनि थबाङ हिँडेको छ । जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी नायव उपरीक्षक विरेन्द्र थापा थबाङ हिडेका छन् । घर्तीको अवस्था भने अझै अज्ञात रहेको छ ।
भदौ ३१ गते सम्पन्न हुने थबाङको गाउँसभा प्रभावित गर्न उनलाई अपहरण गरिएको हुन सक्ने स्रोतले दावी गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गाउँसभाको उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । स्रोतका अनुसार प्रमुुख घर्तीले गाउँसभाका लागि योजना छनौटमा कसैसँग समन्वय नगरेको भन्दै असन्तुष्टि समेत देखिएको थियो ।
उनको अपहरण पश्चात गाउँसभा हुनेबारे अन्यौलता छाएको छ । नेकपाले साविकको गाविस थबाङलाई आफ्नो आदर्शभूमि मान्दै आएको छ । स्थानीय तहको चुनावमा नेकपाका कार्यकर्ता स्वतन्त्रबाट उम्मेदवार बनेका थिए । चुनाव उपयोग गरेका थबाङका नेता, कार्यकर्तालाई पार्टीले कारवाही समेत गरिसकेको छ ।
अन्नपूर्ण पोष्टबाट