सराङकोटमा माउण्टेन लजः हिमाल हेर्दै छतमा स्विमिङ (फोटोमा हेर्नुस्)

पोखरा, कार्तिक २७ ।
पोखराको सराङकोट, एउटा उत्कृष्ट पर्यटकीय गन्तब्य । लामो समयदेखि पर्यटक यो डाँडोमा पुगेपनि पर्यटनका लागि आवश्यक पुर्वाधार थिएन । खासगरी हिमाली दृष्यावलोकन र उदाउँदो सूर्यको अवलोकन गर्नका लागि यो ठाउँ प्रख्यात छ । पर्यटकहरु विहान मिर्मिरेमै सराङकोट पुग्थे, उदाउँदो सूर्य हेर्थे ।

सामान्य चिया नास्ता पनि नगरि पोखरा झर्थे । पर्यटकले स्तरीय सुविधा नपाएपछि यहाँका ब्यवसायीहरुले विस्तारै स्तरीय होटल रेष्टुरेण्टहरु खोल्न थालेका छन्् । बाराही ग्रुपले ३५ करोडको लागतमा सम्पूर्ण सुविधासहितको लज सुरु गरेको छ ।

‘सराङकोट माउन्टेन लज’ नाम दिईएको यो होटलमा बाराही ग्रुपका विप्लव पौडेल र नेप्लिज इन्काउण्टरका सञ्चालक नारायण पहारीको संयुक्त लगानी छ । ८ रोपनी जग्गामा निर्माण गरिएको लज १६ सय मिटर उचाईमा छ । नेपाली परम्परा झल्कने गरी ढुंगा र काठको अधिकतम प्रयोेग गरी बनाइएको लजको (छत) ५ औं तलामा स्विमिङ पुल छ । होटलमा २ ओटा स्विट र २८ ओटा डिलक्स कोठा बनाईएको ब्यवस्थापक प्रदीप न्यौपानेले जानकारी दिए ।

८० जना क्षमताको सभाहल समेत रहेको रिसोर्टमा रेस्टुराँ, बार, स्पा र मसाज रूम पनि छन् । प्रत्येक कोठामा बाल्कोनी छ, जहाँबाट हिमालसहित फेवाताल, पोखरा बजार र हेम्जाका फाँट देख्न सकिन्छ । अरु भन्दा भिन्न देखाउनका लागि सर्ट हाइकिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बन्जीजम्प, फरेस्ट वाकका लागि सराङकोट पुग्ने पर्यटकलाई लक्षित केही प्याकेज समेत सञ्चालन गर्न लागेको न्यौपाने बताए ।

‘नजिकै कश्यप ताल छ । नेपालको इतिहास कास्कीकोट दरबार छ । जंगलको बीचमा होटल रहेकोले पनि केही शर्ट हाईकिङ गराउन पाए जंगली जनावर अवलोकन पनि गर्न मिल्छ,’ उनले भने, ‘हामी विल्कुल फरक ढंगले लज सञ्चालन गरिरहेका छौं । यहाँ आएका पर्यटकलाई कम्तिमा २ दिन यतै भुलाउने प्रयास गरेका छौं ।’

लजमा नेपाली पर्यटकका लागि एउटा कोठाको १० हजार रुपैयाँ र विदेशीलाई १२० डलर (१२ हजार रुपैयाँ) शुल्क निर्धारण गरिएको छ । सेवा शुभारम्भका अवसरमा यही शुल्कमा भ्याट र सेवाशुल्कसहित ब्रेकफास्ट पनि समावेश गरिएको होटलले जनाएको छ । लजमा पानीका लागि बोरिङ सञ्चालन गरिएको छ ।

बोरिङको पानी ७० प्रतिशत लजमा र ३० प्रतिशत स्थानीय समुदायमा वितरण गरिएको न्यौपाने सुनाउछन् । अनौपचारिक रूपमा दशैंबाटै सञ्चालन भैरहेको लज छिट्टै औपचारिक उद्घाटन गर्ने तयारी भइरहेको बाराही ग्रुपका कार्यकारी व्यवस्थापक राजकुमार केसीले जानकारी दिए । लजमा अहिले ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अधिकांश स्थानीय कर्मचारी राखिएको केसीको भनाई छ ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा आएको लज आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्ने सञ्चालकहरूको विश्वास छ । २ बर्षअघि निर्माण सुरु भएको लजको केही काम अझै बाँकी छन् । लजमा आवश्यक पर्ने केही खाद्य सामग्री स्थानीय स्तरबाटै आयात गर्न लागिएको छ ।

‘दुध, साग, स्कुस, दाल जस्ता सामान किन्न बाहिर जानुपर्दैन । सहकारीसँग समन्वय गरेर गाउँबाटै किन्न लागेका छौं,’ केसीले भने, ‘यसले स्थानीयको रोजगारी पनि बढ्छ । आम्दानी पनि हुन्छ ।’ बाराही ग्रुप अन्तर्गत पोखराको लेकसाइडमा होटल बाराही र चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालनमा छ । काठमाडौंको कान्तिपथमा पाँचतारे होटल बाराही प्लाजा पनि सञ्चालनको अन्तिम तयारीमा छ ।

Photo-Durga Prasad Poudel