सरकार विरुद्ध सडकमा उत्रिनुस्–देउवा

पोखरा, माघ ५ ।
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विरुद्ध आन्दोलनको तयारी थाल्न आह्वान गरेका छन् । सरकारका गतिविधिले प्रजातन्त्र कमजोर भएको भन्दै उनले प्रजातन्त्रका लागि ओलि सरकारका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

पोखरामा नेपाल निजामति कर्मचारी यूनियन संघको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले सरकारले विभिन्न नाममा कर्मचारीमाथी हस्तक्षेप बढाएको आरोप लगाए । कर्मचारीतन्त्र स्वतन्त्र हुनुपर्ने भन्दै उनले कर्मचारीमाथीको हस्तक्षेप नरोके सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिए ।

‘ओलि सरकारले शिक्षा विधेयकको नाममा, कर्मचारी समायोजनमा पनि हस्तक्षेप गरेर नियन्त्रण गर्न खोजेको छ । राजनीतिकरण गर्न खोजेको छ, उनले भने–यही हस्तक्षेप रहिरह्यो भने सरकार विरुद्ध सडकमा जानुपर्ने स्थिति आउछ । तर त्यो अवस्था नआओस् भन्ने हाम्रो चाहाना छ ।’

जिपी कोइराला श्वास प्रश्वास केन्द्रको नाम हटाउन लागेको भन्दै उनले सरकारले अराजनीतिक गतिविधि देखाएको गुनासो गरे । ‘गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाको नाम सँगपनि सरकारलाई एलर्जी छ । हाम्रा महान नेताहरुको नाम पनि राख्न चाहाँदैनन्, उनले भने–आज नेताको नाम हटाउने र भोलि प्रजातन्त्र हटाउने षड्यन्त्र भैरहेको छ । काँग्रेसलाई यो सैह्य छैन ।’

नेपाल तरुण दलले प्रत्येक प्रदेशमा आन्दोलनको घोषणा गरिसकेकोले त्यसमा सघाउन देउवाले आग्रह गरे ।