सरकार प्रतिगमनतिर अघि बढेको छ : प्रा.डा. ओम गुरुङ

पोखरा, भदौ ३० ।
नेकपा (क्रान्तिकारी माओवादी)सम्बद्ध अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा.डा. ओम गुरुङले वर्तमान नेकपा नेतृत्वको सरकार प्रतिगमनतर्फ अघि बढेको आरोप लगाउनुभएको छ । अखिल नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश नं. ४ ले पोखरामा आयोजना गरेको विरोधसभामा बोल्दै प्रा.डा. गुरुङले नेकपा सरकारमा जातीय अहंकारवाद हावी भएको बताउनुभयो ।

अझै पनि राज्यसत्ता परिवर्तन नभएको जिकिर गर्दै उहाँले वर्तमान संविधान खारेज हुनुपर्ने धारणा राख्नुभयो । सरकारले जनतालाई पीडा मात्र दिएको भन्दै नेपाली जनता अझै पनि सचेत हुनुपर्ने उल्लेख गर्नुभयो । अखिल नेपाल आदिवासी जनजाति महासंघका महासचिव नगेन्द्र राईले जातीय पहिचानका आधारमा स्वायत्त प्रदेशहरू निर्माण गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष निलबहादुर पुनले सरकारले आदिवासी जनजातिलगायतका उत्पीडित समुदायविरोधी हर्कत गरेको भन्दै मगरात स्वायत्त प्रदेशका लागि आन्दोलन गर्नुपर्ने जिकिर गर्नुभयो ।

अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाका उपाध्यक्ष छविलाल घलेले तमु र मगरलगायतका आदिवासी जनजातिको ऐतिहासिक भूमिलाई गण्डकी प्रदेश भनेर नामाकरण गरिएकोमा आपत्ति जनाउँदै तमुवान स्वायत्त प्रदेशका लागि कडा आन्दोलनको आवश्यकता औंल्याउनुभयो ।ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बीगेसो)का सभापति पदमसुन्दर लिम्बूले भूपू गोर्खाहरूलाई बेलायतले समान अधिकार दिन नचाहेको भन्दै नेपाल सरकारले भूपू गोर्खाको अधिकारका लागि कुनै पहल गर्न नचाहेको आरोप लगाउनुभयो । सो अवसरमा अखिल नेपाल छन्त्याल राष्ट्रिय मुक्ति मोर्चाका नेता बमबहादुर छन्त्यालले पनि बोल्नुभएको थियो ।