सरकारी प्रतिबन्ध पछि विप्लवका ८ कार्यकर्ताले ज्यान गुमाए, ५७९ जना समातिए

काठमाण्डौं, असार २६ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आपराधिक क्रियाकलाप बढाउँदै लगेको निष्कर्ष निकाल्दै सरकारले फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गर्यो । विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामाथि खलल पार्ने काममा उनीहरु आक्रामक रुपमा लागेको भन्दै प्रतिबन्ध लगाएको सरकारले बताएको थियो ।

प्रतिबन्धपछि प्रहरी विप्लव नेतृत्वको नेकपामाथि आक्रमक देखिएको छ । प्रतिबन्धअघि विप्लवका १९० जना नेता÷कार्यकर्ता पक्राउ परेको प्रहरीको तथ्यांकमा उल्लेख छ । यो २०७५ वैशाखदेखि फागुन २८ गतेसम्मको तथ्यांक हो । पक्राउ परेका १९० जनामध्ये १७२ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ ।

प्रहरीका अनुसार प्रतिबन्धपछि भने (फागुन २८ गतेदेखि असार २५ गतेसम्म) विप्लवका ५७९ जना नेता–कार्यकर्ता पक्राउ परेका छन् । तीमध्ये ५३६ जनाबिरुद्ध मुद्दा दर्ता भएको छ । जसमा ८७ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् भने ७० जना अनुसन्धानको क्रममा रहेका छन् । ३९ जना सोधपुछपछि छुटेको र ३८३ जना मुद्दा दर्ता भइसकेपछि छुटेका छन् ।

यसबीचमा ३५२ जना विप्लव नेतृत्वको नेकपा परित्याग गरेर अन्य पार्टीमा प्रवेश गरेको समेत पाइएको छ । प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धपछि हालसम्म ८ जना विप्लव कार्यकर्ताले ज्यान गुमाएका छन् । प्रहरीको कारबाहीमा परी ३ जना र बम विस्फोटमा परी ५ जनाले ज्यान गुमाएका हुन् । यस्तै ७ जना घाइते भएका छन् ।

यसबीचमा प्रहरीले विप्लव नेता–कार्यकर्ताहरुको साथबाट २३ थान हतियार समेत बरामद गरेको छ । विप्लव समूहले चाहीँ देशका १८ ठाउँमा बम विस्फोट गरेको प्रहरीले जनाएको छ । यस्तै १० ठाउँमा आगजनी तथा तोडफोडका घटना घटाएको प्रहरी तथ्यांकमा उल्लेख छ । विप्लव कार्यकर्ताहरुले हालसम्म ५ सय ११ थान हतियार बुझाएका छन् ।