सरकारले टुंग्यायो प्रदेशमा कर्मचारीको दरबन्दी, गण्डकीलाई सबैभन्दा कम

पोखरा, साउन २१ ।
सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ । संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ ।

सोअनुसार सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल दरबन्दी कायम गरिएको छ । ७ प्रदेशमध्ये सबैभन्दा धेरै प्रदेश ५ मा कर्मचारी दरबन्दी तोकिएको छ । प्रदेश ५ लाई ३ हजार ८ सय २१ जना कर्मचारी पठाईने भएको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा छन् । गण्डकी प्रदेशले २ हजार १ सय १४ जना मात्रै कर्मचारीको दरबन्दी पाएको छ ।

ओएनएम सर्भेअनुसार प्रदेश १ मा ३ हजार ६ सय २८, प्रदेश २ मा ३ हजार १ सय ३२, प्रदेश ३ मा ३ हजार ५ सय ५५, कर्णाली प्रदेशमा २ हजार २ सय ३६ र प्रदेश ७ मा २ हजार ६ सय १३ कर्मचारीको दरबन्दी कायम गरिएको छ । सातवटै प्रदेशमा सचिवको दरबन्दी ७, सहसचिव (अप्राविधिक ४२, प्राविधिक ७०), उपसचिव (अप्राविधिक) २ सय ४४ र प्राविधिकतर्फ उपसचिव ६ सय ५५ दरबन्दी कायम गरिएको छ ।