सरकारले झुक्यायो डा. केसीलाई

पोखरा, साउन ३ ।
सरकारले अनसनरत डा. गोविन्द केसीलाई झुक्याएको छ । डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंतर्फ ल्याइएको छ । काठमाडौं आउन तयार भए पनि डा. केसीले सेनाको हेलिकोप्टरमा नजाने अडान लिएका थिए ।

तर, झडपका क्रममा घाइते भएका प्रहरीको मृत्यु भएको खबर सुनाएपछि केसी विक्षिप्त भए । उनी रुँदै ‘म काठमाडौं जान्छु’ भन्दै आफैं बेडबाट झरेका थिए । तर, मृत्यु भएका भनिएका प्रहरी जवान कमल उपाध्यायको उपचार चलिरहेको थियो ।

‘बल प्रयोग गरेर डा. केसीलाई बाहिर निकाल्दा थप तनाव हुने भएपछि यस्तो गर्नुपरेको हो’ स्थानीय प्रशासन स्रोतको दाबी छ । तर, डा. केसीलाई सुनाइएको प्रहरीको मृत्यु भएको खबर सञ्चार माध्यमहरुमा पनि आयो । त्यसपछि स्थानीय प्रशासन आफैंले प्रहरी जवानको मृत्यु भएको खबर खण्डन गरेको छ ।