सरकारले किसानलाई मल दिएन, भोकमरी लाग्न सक्छः कांग्रेस सांसद दवाडी

पोखरा, भदौ ४ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सांसद तथा संसदीय दलका प्रबक्ता प्रकाशचन्द्र दवाडीले समयमा मल नदिएर सरकार किसानप्रति उदासिन भएको आरोप लगाएका छन् । विहिबार विज्ञप्ती जारी गरि उनले धान रोपाईं सकिएको लामो समय वितिसक्दा पनि किसानले आवश्यक मल नपाउनु खेदजनक भएको बताएका छन् ।

‘धान गोड्ने बेला छ । किसानले मल पाएनन् । सरकार किसानप्रति गम्भीर भएन,’ उनले भने, ‘जनतामाथी भ्रमको खेती छरेको छ । मलाई चिन्ता लागेको छ । तत्कालै मल उपलब्ध गराओस् ।’

अहिले धानखेतीमा मल नहुँदा पहेंलिन थालिसकेको किसानहरुको गुनासो छ । सांसद दवाडीले अहिले नै गम्भीर नभए धान उत्पादन घट्ने र भोकमरी लाग्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले मल आयातमा भएको ढिलाई र अनियमितताबारे छानवीन गर्न पनि माग गरेका छन् । सांसद दवाडीले सोही अवसरमा विज्ञप्ती मार्फत हरितालिका तिजको शुभकामना दिए ।