सरकारमा गच्छदारका ५ मन्त्री फेरिँदै

काठमाडौं, असोज ९ ।
उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सरकारमा रहेका आफ्ना पाँच मन्त्री फिर्ता बोलाएर अन्यलाई पठाउने तयारी गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमले सरकारमा गएका पाँच जना मन्त्रीलाई फिर्ता बोलाउने र उनीहरुको ठाउँमा अवसर नपाएका सांसदलाई पठाउने निर्णय गरेको छ ।
प्रत्येक २र२ महिना मन्त्रीमा पालो गर्ने सहमतीकै आधारमा सरकारबाट फिर्ता बोलाउन लागेको फोरम लोकतन्त्रिका नेता रामजनम चौधरीले बताए । हामी सरकारमा जाँदै आलो–पालो गर्ने सहमतीका आधारमा पहिलो चरणमा गच्छादारसहित ६ मन्त्री सरकारमा गएका थिए । अहिले गच्छदार बाहेकका बाँकी मन्त्रीलाई फिर्ता बोलाउन लागिएको हो ।
शेरबहादुर देउवा नेतृत्वमा फोरमका जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहित भूमिसुधार तथा व्यवस्था मन्त्री छन् । यस्तै जनकराज चौधरी संघीय मामिला राज्यमन्त्री, सुमित्रा थरुनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र यसोदाकुमारी लामा भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री छन् ।
उनीहरुलाई फिर्ता बोलाएर अवसर नपाएका अन्य सांसदलाई दशैं लगत्तै सरकारमा पठाउने चौधरीले बताए । शनिबार बसेको पार्टी वैठकले सरकारमा भएको उपस्थितिले उल्लेख्य प्रभाव पार्न नसकेको निष्कर्ष निकाल्दै मन्त्री परिर्वतन गर्ने निर्णय गरेको थियो ।
सरकारमा गएका मध्ये जितेन्द्र देव धेरै विवादमा आएका छन्। नियुक्ति र नागरिक उड्यन प्राधिकरणमा अनावश्यक हस्तक्षेप गरेको भन्ने आरोप उनीमाथि छ । मन्त्री परिवर्तन विवादका कारण नभई आलोपालोको सहमति अनुसार हुन लागेको चौधरीले दाबी गरे ।