सरकारको विरुद्ध राष्ट्रियसभा अध्यक्ष, निजी स्कुलमा विद्यार्थी भर्ना

पोखरा, बैशाख ७ ।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाले निजी स्कुलमा बिद्यार्थी भर्ना गराएका छन् । सरकारले सरकारी स्कुलको ब्यवस्थापन र सरकारी स्कुलमै विद्यार्थी भर्ना गराउनुपर्ने अभियान चलाईरहेका बेला सोही अभियानमा अध्यक्ष तिमिल्सीनाले पोखराको एक बोर्डिङ स्कुलमा विद्यार्थीको अभिभावकत्व लिएर भर्ना गराएका हुन् ।

एमालेबाटै राष्ट्रियसभा अध्यक्ष बनेका तिमिल्सिनाले वैशाख ५ गते पोखराको निजी फेवा पब्लिक सेकेन्डरी स्कुलमा एक दलित समुदायकी बालिकालाई भर्ना गरिदिएका हुन् । आफ्नै २ छोरी पनि पोखरा गणेशटोलको त्यही निजी स्कुलमा पढाएका तिमिल्सिनाले गरिब तथा विपन्न वर्गका व्यक्तिले पनि निजी स्कुलमा पढ्न पाउन् भन्ने हेतुले ती विद्यार्थी फेवा स्कुलमा भर्ना गराएको उनी निकट स्रोत बताउँछ ।

उनले त्यसै दिन पोखरा ५ को धर्मस्थली आधारभूत विद्यालयमा अर्का एक दलित विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । गोरखा घर भई पोखरामा मजदुरी गर्दै आएकी महिलाका छोराको अभिभावकत्व ग्रहण गर्दै उनले कपी, कलम, झोला र पोसाक उपलब्ध गराएका थिए । त्यसको भोलिपल्ट वैशाख ६ मा उनले फेरि पर्वत पुगेर पनि अर्की एक बालिकाको अभिभावकत्व ग्रह गर्दै सामुदायिक स्कुलमा भर्ना गराएका थिए ।