सरकारको घोषणा-९ गतेदेखि विदेशी उडान ठप्प, लामो दुरीको गाडी नचल्ने

पोखरा, चैत ७ ।
सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गर्ने बताए ।

त्यस्तै सरकारले सीमा नाकाबाट आउनेहरुको अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले जानकारी दिए । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्था गरिने, देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत २१ गतेसम्म बन्द गर्ने सरकारको निर्णय छ ।

आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ भने महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।