सरकारका दुई वर्षः संसदमा प्रधानमन्त्रीको सम्बोधन

 

काठमाडौं, फागुन ३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको दुईवर्षे कार्यकाल सफल भएको दाबी गरेका छन् ।

सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा शनिबार संसदमा सम्बोधन गर्दै उनले दुईवर्षे कार्यकाल उपलब्धिमूलक र सफल रहेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारको पहिलो वर्ष आधार वर्ष भएको र चालू दोस्रो आर्थिक वर्षलाई विकासको आरम्भको वर्ष भएको बताए ।

बलियो जगमा उभिएको सरकार भएकाले काम गर्ने शैली फरक रहेको भन्दै उनले आफ्नै आयु र भविष्यको टुंगो नभएको सरकारले गर्ने काम र बलियो जग र भविष्यको टुंगो भएको सरकारले गर्ने काम फरक हुने बताए ।

संविधानको स्वीकार्यतामा समस्या देखिँदैन भन्दै प्रधानमन्त्री ओलीले वित्तीय संघीयता कार्यान्वयनमा आएको बताए ।

वर्तमान सरकारले लोकरिझ्याइँ र इच्छासूचीका योजना नल्याएको भन्दै उनले भ्रष्टाचार न्यूनीकरण, गरिबी निवारणमा सरकारले सफलता हासिल गरेको उल्लेख गरे ।

सरकारले अनुभूति गर्नेगरी काम गरेको र राज्यको सम्पत्ति दोहनका विषयमा निष्पक्ष छानबिन गरिने स्पस्ट पारे ।

प्रधानमन्त्री ओलीले दुराचार र दुराचारी, भ्रष्टाचार र भ्रष्टाचारीका सम्बन्धमा मुखमा पानी हालेर बस्ने बानी छैन भन्दै जो–जतिसुकै उच्च ओहोदा वा कथित पहुँचवाला भएपनि तिनको मुख हेरेर सजाय नतोकिने दृढता व्यक्त गरे ।
(ईमेजखबरबाट साभार)