‘समृद्ध नेपाल, सुखी नेपाली’ संकल्प साकार पार्न बंगलादेशले सघाउने’

 

काठमाडौं, कार्तिक २७ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्ने नेपाल सरकारको संकल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चारदिवसीय औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका विशिष्ट अतिथिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग मंगलबार भएको भेटमा नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न बंगलादेशले हातेमालो गर्दै अघि बढ्न चाहेको बताए ।

बंगलादेशको स्वतन्त्रता संग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बंगलादेशलाई स्वतन्त्र राष्ट्रकोरुपमा मान्यता दिने नेपाल सातौं मुलुक भएको स्मरण गर्दै उनले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएको मन्त्री ज्ञवालीले सरकारी सन्चारमाध्यमका प्रतिनिधिलाई जानकारी दिए ।

राष्ट्रपति हमिदले बंगलादेशबाट अधिकतम् लाभ लिन तथा द्विपक्षीय सहकार्य र साझेदारीलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिएको जानकारी पनि उनले दिए ।

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बंगलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवर्द्धनलगायत आपसी चासोका विविध विषयमा आफूहरूबीच विचार–विमर्श भएको बताउँदै उनले बंगलादेशसँगको सुसम्बन्धलाई अझ सार्थक तुल्याएर त्यसलाई आर्थिक साझेदारीमा रुपान्तरण गर्न नेपालले चाहेको जानकारी राष्ट्रपतिलाई दिएका थिए ।

राष्ट्रपति हमिदको यस भ्रमणबाट नेपाल र बंगलादेशबीचको परम्परागत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

भेटमा परराष्ट्रसचिव शंकरदास वैरागी, बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै बंगलादेशका परराष्ट्रसचिव, राष्ट्रपति कार्यालयका सचिव, सन्चारसचिव तथा नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्ते शाम्सको उपस्थिति थियो । (रासस)