समानुपातिक उम्मेदवार छान्नै सकस

काठमाण्डौं, असोज २९ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची आइतबार निर्वाचन आयोगमा बुझाउनु पर्ने भए पनि दलहरुले अन्तिम रुप दिन सकेका छैनन् ।
विधानतः १५ सदस्यीय संसदीय समिति गठन गर्न सक्ने प्रावधान भए पनि कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार १७ सदस्यीय समिति गठन गरेका थिए । तर, वरिष्ठ भएर पनि डा।शेखर कोइराला समितिमा नपरेपछि कोइराला परिवारमै हल्लीखल्ली भयो । कांग्रेस महामन्त्री डा. शशांक कोइराला उम्मेदवार छान्ने समिति बैठकमै गएनन् । लगातार कोइराला बैठकमा नगएपछि देउवाले शनिबार समितिमा डा।शेखर कोइराला, मानबहादुर विश्वकर्मा, डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर र एनपी साउदको नाम थप गरेका छन् । पाँचजना थपिएपछि संसदीय समिति २२ सदस्यीय पुगेको छ ।
कांग्रेसले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला र क्षेत्रीय समितिलाई तीन–तीनजनाका दरले नाम सिफारिस गर्न परिपत्र गरेको थियो । तर, जिल्लाबाट आएका समानुपातिक उम्मेदवारको सिफारिसको संख्या तीन हजारभन्दा बढी भएपछि कांग्रेसलाई सकस परेको छ ।
एमालेमा प्रदेश र प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार टुंग्याउन ‘महाभारत’ देखिएको छ । प्रतिनिधिसभाका १ सय १० तथा प्रदेश सभाका २ सय ३० उम्मेदवारका लागि ७–८ गुना बढी संख्यामा सिफारिस आएको एमालेले जनाएको छ । बन्दसूची पेस गर्ने दिन आइतबारसम्म टुंगो लगाउने गरी स्थायी समितिमा औपचारिक छलफलसमेत भएको छैन ।
माओवादी केन्द्रलाई प्रदेश र प्रतिनिधिसभातर्फ समानुपातिक सूची तयार गर्न सकस परेको छ । आवश्यकताभन्दा धेरै आकांक्षीको नाम जिल्लाजिल्लाबाट सिफारिस भएपछि उम्मेदवारको सूची तयार गर्न कठिन भएको हो । माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले आइतबार बिहानसम्म प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सूची तयार भइसक्ने बताइन् ।‘पार्टीले समानुपातिक लिस्ट तयार गर्न कार्यदललाई जिम्मेवारी दिएको छ,’ भुसालले भनिन्, ‘प्रदेश सभाबाट अनुमोदन भएपछि कार्यदलले अन्तिममा फाइनल गर्नेछ ।’
आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।