समाजसेवीलाई तमु कला साहित्य परिषदको सम्मान

पोखरा, फागुन १८ ।
तमु कला साहित्य परिषद् नेपालले बिदेशमा रहेका नेपाली समाजसेवीहरुलाई पोखरामा सम्मान गरेको छ । घरायसी कामले विदा मनाउन नेपाल आएका र छुट्टी सकेर कार्यक्षेत्र फर्किन लागेका नेपालीहरुलाई परिषद्ले स्वागत र विदाई गरेको हो । विशेष कार्यक्रमका बीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ र काँग्रेस नेतृ सरस्वति गुरुङले उनीहरुलाई सम्मान गरे । सम्मान समारोहलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य धनराज गुरुङले विदेशी सीप र अनुभवको नेपालमा प्रयोग भए देश छिटो समृद्ध हुन सक्ने बताए । उनले आर्थिक अवस्था सुधारका लागि बैदेशिक रोजगारी बाध्यता भएपनि त्यसको सिकाई अव नेपालको सामाजिक सुधारमा प्रयोग गर्न सुझाए । गुरुङले संविधान प्रदत्त अधिकारको प्रयोगमा पनि जोड दिए । ‘बिदेशमा सिकेका सीप र कलाको उपयोग नेपालमा हुनुपर्छ । तवमात्रै समृद्ध नेपाल सम्भव छ, उनले भने–क्षमता बढाएर संविधानले दिएको अधिकार प्रयोग गरौं । कोटाका आधारमा पाएको अधिकार देखेर मख्ख पर्ने र सिरानीमा राखेर बसियो भने त्यो पनि गुम्न सक्छ ।’  
कार्यक्रममा काँग्रेस नेतृ तथा परिषद्की सल्लाहकार सरस्वति गुरुङले तमु जातिको इतिहास प्रचारका लागि संस्था स्थापना गरेको बताईन् । ‘देशमा अधिकार स्थापित हुँदा तमुहरुको उपस्थिती पनि निकै बढेको छ । अव यसको उपयोग गर्नु आजको आवश्यक्ता हो, उनले भनिन्–क्होंलासोथर देखि दुधपोखरीसम्मका भागहरुमा हामी पुग्नेछौं । तमु जातिको उद्गम स्थललाई परिचित्र मार्फत संसारभरि पु¥याउनेछौं ।’ अभियानमा साथ दिन उनले सबैसँग आग्रह समेत गरेकी छिन् । हङकङका कानुन ब्यवसायी तथा समाजसेवी देव गुरुङले परिषद्ले सुरु गरेको अभियानमा सघाउन तयार रहेको बताए । उनले आँफुहरुले कमाईलाई मात्रै ध्यान नदिएको भन्दै नेपालको सामाजिक क्षेत्रमा पनि सघाउँदै आएको बताए । ‘अहिलेपनि धेरै संघसंस्थालाई निरन्तर सहयोग गर्दै आएको छु । कमाएको पैसा मानव हितमा खर्च गर्नु हाम्रो पनि दायित्व हो, उनले भने–देशको राजनीतिक स्थिरता र पूर्वाधार तयार भए नेपालीहरु विदेश जानुपर्दैन । त्यो दिन छिटै आओस् ।’ अर्का ब्यवसायी तथा समाजसेवी कोमल गुरुङ (स्याङजाली कान्छा) ले नेपालीहरुको क्षमताले विदेशमा पनि अप्ठ्यारामा परेका नेपालीहरुको उद्धार भएको बताए । ‘हामी पैसा कमाउनका लागि मात्रै हङकङ बसेका होईनौं । समाजसेवा पनि सँगसँगै बढाईरहेका छौं, उनले भने–हरेकका सुखदुखसँग हामी जोडिएका छौं । अझै निरन्तर सहयोग गरिरहन पाउँ ।’ उनले तमू संस्कृतिको पुर्नत्थानमा आफ्नो पनि साथ रहने बताए ।
कार्यक्रममा तमु समाज अष्ट्रेलियाका संस्थापक तथा सहारा अष्ट्रेलियाका सल्लाहकार प्रेमकाजी गुरुङ, तमु समाज क्यालिफोर्नियाका राजकुमार गुरुङ, तमु धिं युके फक्सटाउनका अध्यक्ष चन्द्र गुरुङ, मिलन फाउण्डेसनका अध्यक्ष मिलन घोताने, तमु समाज हङकङका सल्लाहकार तथा पूर्व राष्ट्रिय भलिवल खेलाडी यम गुरुङ, तमु समाज हङकङका सल्लाहकार नरेन्द्र गुरुङ, युके भेट्रान फुटवल क्लवका अध्यक्ष बुद्धी सुनुवार, छविन्द्र लिम्बु लगायतको उपस्थिती थियो । उनीहरुले सामाजिक विकास र उत्थानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । तमु कला साहित्य परिषद् नेपालकी अध्यक्ष बुद्धी लक्ष्मी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव कृष्ण कुमार गुरुङले गरेका थिए । कार्यक्रमको संयोजन फोटो पत्रकार सुदर्शन रञ्जितले गरेका थिए ।