समलिङ्गी विवाहको कानुन माग्दै यौनिक अल्पसंख्यक

पोखरा, चैत १९ ।
समलिङ्गी तेश्रो लिङ्गीहरुले समलिङ्गि विवाहलाई कानुनी मान्यता दिनुपर्ने माग गरेका छन् । आईतबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै उनीहरुले समलिङ्गी विवाहलाई कानुनले सम्बोधन गरे समाजमा सहज अस्थित्व स्थापित गर्न सकिने बताए । प्रदेश तहमा बन्ने कानुनमै यौनिक अल्पसंख्यकको मागलाई सम्बोधन गराउन पत्रकारले सहयोग गर्नुपर्ने उनीहरुको भनाई छ । ५ बर्षअघि नै सर्बोच्च अदालतबाट समलिङ्गी विवाहलाई मान्यता दिन आदेश आएपनि हालसम्म त्यसको कार्यान्वयन सुरु नभएको उनीहरुको गुनासो छ । ‘सर्बोच्चले फुकुवा गरिसक्यो । तर अझै पनि सरकारी निकायबाट समलिङ्गी विवाहले मान्यता पाउँदैन, निलहिरा समाजका सहजकर्ता अनुज पिटरले भने–हामी पनि नेपाली हौं । हाम्रो मागप्रति सरकार किन गम्भिर हुँदैन ?’ विवाहले कानुनी मान्यता नपाउँदा समाजमा घुलमिल हुन र दैनिकी चलाउन पनि कठीन भएको यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको महासंघकी राष्ट्रिय कार्यक्रम संयोजक सिम्रन शेरचन बताउँछिन् । ‘यौनिक अल्पसंख्यक भएपछि यसैपनि समाजमा मुख देखाएर हिड्न गाह्रो छ । त्यसमाथी विवाहले कानुनी मान्यता नपाउँदा धेरै जटिलता भोग्नुपरेको छ, उनले भनिन्–तत्कालै कानुनमा ब्यवस्था गरेर समलिङ्गी विवाहलाई फुकुवा गरिदिनुप¥यो । हामीलाई जीवन विताउन र केही गर्ने शाहस आउँछ ।’
विवाहलाई मान्यता नदिँदा यौन क्रियाकलापलाई बढवा दिईएको र यसले एचआईभी एड्स जस्ता रोगको चुनौति बढ्ने उनीहरुको अनुभव छ । ‘समाजले हामीलाई यौनकर्मी भनेरै पहिचान दिन्छ । केही ब्यक्तिहरुका कारण सबैले एउटै दर्जामा बस्नुपरेको छ, उनीहरु भन्छन्–विवाहको बाटो खोलिदिए यस्ता आरोप आँफै हराउँछन् । जथाभावी सेक्समा सामेल हुँदा डरलाग्दा रोगको सिकार हुनुपर्ने बाध्यता आउन सक्छ ।’ निलहिरा समाजले पोखरामा यौनिक अल्पसंख्यकका प्रकार र उनीहरुको चुनौति तथा समाधानका उपाय बिषयमा पत्रकारलाई सचेतीकरण गरेका निलहिरा समाजकी विन्दिया गौतमले बताईन् । ‘पत्रकारलाई भन्दा सजिलोसँग समाजले पचाउला भनेर तपाईंहरुलाई आग्रह गरेका हौं । अहिले प्रदेशमा बन्ने कानुन हामीले पनि स्वागत गर्ने खालको होस् भन्ने चाहना छ, उनले भनिन्–लामो समयदेखिको हाम्रो मागप्रति पत्रकारहरुले पनि आवाज उठाएर यसलाई सम्बोधन गर्ने वातावरण बनाईदिन आग्रह छ ।’ उनका अनुसार पोखरामा हाल ५० जना समलिङ्गीहरु खुलेर आउने गरेका छन् । त्यसबाहेक पनि थुप्रै यौनिक अल्पसंख्यकहरु समाजको डरले लुकेरै बसेका उनी बताउँछिन् । विश्व तथ्यांक अनुसार करिब ७ लाख यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरु रहेका छन् । नेपालमा पनि यसको दर निकै उच्च रहेको सरोकारवालाहरु बताउँछन् ।