समग्र पोखराको यातायात व्यवस्थापन गर्न विस्तृत योजना बनाउँदैंछौं ः मेयर जिसी

 

पोखरा, २० साउन ।

पोखरा महानगरपालिकाले ट्राफिक व्यवस्थापनमा सहयोग पु¥याउन ट्राफिक कोण (रोड डिभाइडर) वितरण गरेको छ ।

महानगरपालिकाले जिल्ला ट्राफिक कार्यालय कास्कीलाई ४ सय ९६ थान ट्राफिक कोण हस्तान्तरण गरेको हो । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद शर्मा घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी निरीक्षक मुरारी मिश्रलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख जिसीले समग्र पोखराको यातायात व्यवस्थापन गर्न महानगरपालिकाले विस्तृत योजना बनाइरहेको बताए । ‘यातायात व्यवस्थापन सम्बन्धी योजना बनाउँदैछौं,’ प्रमुख जिसीले भने,‘ अबको ६ महिनामा योजना तयार हुन्छ र योजना अनुसार नै पोखरामा यातायात व्यवस्थापन सम्बन्धी काम गरिनेछ ।’ प्रमुख जिसीले दक्षिण एसियाली खेलकुद सागलाई मध्य नजर गरेर पोखराका ४ वटा चोकमा ट्राफिक लाइट जडान गरिने बताए । उनले आगामी मंसिर भित्रमा सिर्जनाचोकमा आकाशे पुल बनिसक्ने र सागलाई नै ध्यानमा राखेर सहरका मुख्य ठाउँहरुमा सिसिटिभी जडानको योजना समेत बनाएको जानकारी दिए ।

ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएपनि सुधार गरेर लैजान महानगर लागि परेको उनको भनाइ छ । पोखराका केही सडकहरुमा एकतर्फी यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता भएको पनि उनले बताए । भदौ १ गतेदेखि पोखरा भित्र सञ्चालन हुने सार्वजनिक यातायात बसहरुमा ई–टिकटिङ लागू गरिने र त्यसलाई क्रमश कार्ड सिस्टममा लैजाने तयारीसहित काम भइरहेको जिसीले जानकारी दिए । महानगरपालिकाले जनताले तिरेको करबाट नै ट्राफिक कोण वितरण गरेकाले यो जनाताको सम्पत्ति भएकाले जतन गर्न आम नगरबासीलाई प्रमुख जिसीले आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख, डिआइजी विनोद शर्मा घिमिरेले ट्राफिक कोणले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताए । पोखराको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन प्रयास गरिरहेको भन्दै डिआइजी घिमिरेले जनशक्ति व्यवस्थापनमा पनि प्रदेश प्रहरी कार्यालयले ध्यान दिइरहेको बताए । सुन्दर पोखरालाई अझ सुन्दर बनाउनमा सबैको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ छ । कार्यक्रममा एसपी वीरेन्द्रकुमार बस्याल, पोखरा महानगरपालिका इन्जिनियर सुरेन्द्र पौडेलले पोखराको ट्राफिक व्यवस्थापनको बारेमा बोलेका थिए ।

जिल्ला ट्राफिक कर्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले पोखरामा १ सय जना ट्राफिक प्रहरी कार्यारत रहेपनि ट्राफिक व्यवस्थापनलाई सहज बनाउन २ सय ५० जनशक्ति आवश्यक भएको बताए ।