सन्दीप लामिछानेसहित ४ खेलाडीलाई कारबाही

पोखरा, कार्तिक १९ ।
पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा खेल भावना विपरित व्यवाहार देखाएका ४ खेलाडी कारबाहीमा परेका छन् । शनिबार पोखरा रंगशालामा भएको खेलमा अभद्र व्यवहार देखाएका विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछानेलाई आइसिसी आचार संहितअनुसार कारबाही गरिएको पिपिएलले जनाएको छ ।

खेलमा अम्पयरसँग नो बलको विषयमा विवाद गरेका सन्दीपको १ अंक घटाइएको छ । चितवन राईनोज विरुद्धको खेलमा विराटनगरका किशोर महतोको बललाई अम्पायरले नो बल दिएपछि सन्दीपले विवाद गरेका थिए ।

सन्दीपसँगै विवादमा उत्रिएका तीव्र गतिका बलर किशोर महतो पनि कारबाहीमा परे । उनको पनि १ अंक घटाइएको छ ।

सोहि खेलमा अम्पायरसँग विवाद गरेका चितवनका खेलाडी सनी पटेललाई पनि सोही कारबाही गरिएको छ । सो खेलमा चितवनले विराटनगरलाई ४ विकेटले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको थियो ।

यता हुलास काठमाडौं रोयल्सका अमनरसिंह रटेउला पनि कारबाहीमा परेका छन् । उनको पनि १ अंक घटाइएको छ । अमरले शुक्रबार चितवन राइनोजविरुद्धको खेलमा रेफ्रीसँग अभद्र व्यवहार देखाएका थिए ।