सन्दीप, करण र अविनाश पहिलोपटक टी–२० वरीयतामा

 

काठमाडौं, असोज २५ ।

नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर र ओमानमा भएका दुईओटा ट्वेन्टी–२० क्रिकेट शृंखला खेलेर शुक्रबार स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरे ।

सिंगापुरमा भएको तीन देश सहभागी शृंखलामा नेपाल जिम्बाब्वेसित दुवै खेलमा पराजित हुँदा सिंगापुरलाई एक खेलमा पराजित गरेको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो ।

सिंगापुरबाट सीधै ओमान गएको नेपालले त्यहाँ पाँचदेशीय शृंखलामा तेस्रो स्थान हासिल गरेको थियो ।

नेपालले नेदरल्यान्ड्स र हङकङलाई पराजित गर्दा उपाधि विजेता ओमान र दोस्रो स्थानको आयरल्यान्डसित पराजित भएको थियो ।

ट्वेन्टी–२० वरीयता नेपाली खेलाडी

यसैबीच, नेपाली युवा खेलाडी सन्दीप लामिछाने पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को ट्वेन्टी–२० वरीयतामा पर्न सफल भएका छन् ।

आइसीसीको नयाँ वरीयतामा सन्दीपसँगै पहिलोपटक करण केसी र अविनाश बोहरा पनि अटाएका छन् ।

नयाँ वरीयताको बलिङतर्फ सन्दीप ६४औं, करण ८३औं र अविनाश १००औं स्थानमा छन् । तीनैजनाले हालै सम्पन्न टी–२० शृंखलामा राम्रो प्रदर्शन गरेका थिए ।

यसअघिदेखि कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मी वरीयतामा पर्दै आएका छन् ।

बलिङतर्फ सोमपाल ६८औं र वसन्त ९०औं स्थानमा छन् ।

कप्तान पारस टी–२० को अलराउन्डरतर्फ २४औं र ब्याटिङतर्फ ४५औं स्थानमा छन् ।
(ईमेजखबरबाट साभार)