सत्तारुढ नेकपाको काण्डका कारण मुलुक अधोगति तर्फ उन्मुख हुदैँ छ : काँग्रेस केन्द्रिय सदस्य घिमिरे

 

पोखरा, फागुन १७ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को काण्डै काण्डका कारण मुलुक अधोगति तर्फ उन्मुख हुदैँ गएको आरोप लगाएका छन् ।

नेपाली काँग्रेस पोखरा वडा नं १७ द्वारा शनिबार आयोजित प्रशिक्षण तथा वनभोज कार्यक्रममा घिमिरेले कोरोना भाईरस फैलिए झैँ मुलुकमा गम्भीर समस्याहरु फैलिरहेको बताए । मुलुकलाई गम्भीर मोडमा ल्याउने गतिविधि सत्तापक्षबाट भइरहेको भन्दै यस्ता नकरात्मक गतिविधि विरुद्ध आवाज उठ्नु जरुरी रहेको उनको भनाई थियो । उनले भने, ‘नेपाली काँगे्रसमा पनि विकृति मौलाईरहेको छ, गुटको खेती गरे ईतिहासले हामीलाई धिकार्नेे छ ।’

कार्यक्रममा बोल्दै नेपाली काँगे्रसका नेता तथा उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेलले पार्टी पराजित भएपनि संगठनलाई बलियो बनाएको बताए । साथै उनले कत्ति पनि विचलित नभई कर्ममा विश्वास लिनुपर्ने भन्दै पार्टीलाई भित्रैबाट सुर्धान आवश्यक रहेको बताए ।

सो अवसरमा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति एवं निवर्तमान कानुनमन्त्री यज्ञ बहादुर थापा, नगरसभापति बजिरमान श्रेष्ठ, क्षेत्रिय सभापति माधव बास्तोला, जिल्ला उपसभापति आई बहादुर गुरुङ, महिला संघ ईकाई समितिकी सभापति रञ्जिता सुवेदी लगायतले पार्टीलाई सुदृणिकरण गर्दै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

नेपाली काँगे्रस वडा नं १७ ईकाई समितिका सभापति देवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव डि.आर भट्टराईले गरेका थिए भने स्वागत ईकाई समितिका उपसभापति दिपेन्द्र बरालले गरेका थिए ।