‘सत्ताको कालो चश्माले खाल्डो बाटो पनि देखेन’

पोखरा, भदौ ५ ।
सांसद हरिशरण आचार्यले पोखरा–मुग्लीन सडकखण्डको दुलेगौंडादेखि लामे आहालसम्मको सडकमा धेरै खाल्डाखुल्डी भएकोले दिनहुँ दुर्घटना बढेको बताए । ‘सडक लगभग पूरै भत्किएको छ । आज बन्ला, भोली बन्ला भनेको धेरै भयो । तर बनेन,’ उनले भने, ‘दिनहुँ ओहोर दोहोर गर्ने मन्त्री र सांसदहरुमा सत्ताको कालो चश्मा लगाईएकै छ । कालो चश्माले भत्किएको सडक देख्नुभएन होला । संघ सरकारको मातहतमा भएको सडक कपडा सिलाएर लाउन नसकेपनि च्यातिएको कपडा रफ्फु भरेर लाज ढाक्न त सकिन्थ्यो होला नि । आम सरोकारको यो बिषय छिटो रिजल्ट पाउँ सरकार ।’

सांसद प्रभा कोइरालाले पछिल्लो समय बढेको भ्रष्टाचारका घटनामा दोषीलाई कडा कारबाहीको माग गरिन् । ‘जनप्रतिनिधि आएपछि झनै भ्रष्टाचार बढेको समाचार आउँछ । अख्तियारको उजुरीले स्थानीय तह र सरकारसँग सम्बन्धित भ्रष्टाचारका घटना बढी देखाएको छ,’ उनले भनिन्, ‘नेपालमा भ्रष्टाचारको झाङ धेरै ठूलौ भैसक्यो । निर्मम भएर कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

सांसद मिना गुरुङ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम थप प्रभावकारी बनाएर लैजान सुझाउँछिन् । कृष्ण थापाले सरकारी संयन्त्रहरु नै अघोषित रुपमा लेनदेनको अड्डा बनिरहेको गुनासो गरे । विष्णुप्रसाद लामिछानेले बौदीकाली र बुलिङटार गाउँपालिकाका नागरिकलाई सहज हुने गरी इलाका प्रशासन कार्यालय सञ्चालन गर्नुपर्ने माग राखे ।

मेखलाल श्रेष्ठले स्याङजाको जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कनिष्ठ कर्मचारी राजनीतिक आस्थाका आधारमा कार्यालय प्रमुख बनेको भन्दै त्यसलाई रोक्न सुझाव दिए । बैठकमा जनप्रतिनिधिका सेवा सुविधाबारे संशोधित विधेयक विधायन समितिले प्रदेशसभामा फिर्ता गरेको छ ।