सतकीय सानदार प्रदर्शनसँगै पारसले जिताए नेपाललाई, युएई पराजीत

काठमाण्डौं, माघ १४ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले युएईविरुद्धको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेटमा सतक बनाएका छन् । पहिलो एक दिवसीय सतक बनाउने क्रममा उनले नेपाली टिमलाई पनि अहिले मजबुत अवस्थामा र्पुयाएका छन् । सतक हान्ने क्रममा पारसले ९६ बलको सामना गरे । त्यसक्रममा उनले १५ चौका र एक छक्का पनि हाने । पारस १०९ बलमा ११५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै पेभेलियन फर्किए ।

योसँगै नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो ।

तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर्दै युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपालले ३२ बल अगावै ६ विकेटको क्षतिमा जित निकालेको हो । पहिलो एक दिवसीय खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो । तेस्रो खेलमा पनि आफुले चाहे अनुसारकै परिणाम निकाल्दै नेपालले श्रृंखलामा कब्जा गरेको हो । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो र तेस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दा जित सम्भव भएको हो ।

श्रृंखला अन्तर्गत दोस्रो खेल जित्ने क्रममा नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले विश्व कीर्तिमान पनि बनाए । रोहितले एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान रचे ।

आजको खेलमा नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ३५ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएका थिए । त्यसैगरि अर्का ओपनर वसन्त भण्डारी १७ बलमा केबल ९ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसैगरी दीपेन्द्र सिंह एरी १५ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए ।

त्यसपछि नेपालका लागि सन्दीप जोरा पनि २० बलमा १९ रन बनाउँदै क्याच आउट भए । सन्दीपपछि आएका रोहित पौडेल २४ बलमा १६ रन बनाएको अवस्थामा क्याच आउट भए । त्यसपछि आएका अरिफ शेखले नटआउट रहँदै २४ बलमा २१ रन बनाए । अन्तिम क्रममा आएका सोमपाल कामीले पनि नेपालको पारी जितसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । जितका लागि छक्का हानेका उनले २५ बलमा २६ रनको शानदार पारी खेल्दै नेपाललाई जिताए । युएईका लागि इमरान हैदर र असफाक अहमदले २–२ विकेट लिन सफल भए । मोहम्मद नाविद र क्वादेर अहमेदले समान १–१ विकेट लिएका थिए ।

यसअघि टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धा्रित ५० ओभरमा पाँच विकेट झार्दै २५४ रनमा रोक्न सकेको थियो । त्यसक्रममा नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए ।

सुरुवाती दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखे । त्यसपछि तेस्रो ओभरमा नेपालले विकेट लियो । नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीको हातबाट क्याच आउट गराए । त्यसपछि छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शून्यको अवस्थामै विनोद भण्डारीबाट क्याच आउट गराइ पेभेलियन पठाए ।

पहिलो पावर प्ले सकिँदा नेपालले युएईलाई १४ रनमा रोकेको थियो। यो रन एक दिवसीय क्रिकेटकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम हो । पावर प्लेमा सबैभन्दा कम रनको रेकर्ड भारतले बनाएको छ।श्रीलंकाविरुद्ध एक वर्षअघि भएको खेलमा भारत १० ओभरमा ३ विकेट गुमाउँदै ११ रनमा समेटिएको थियो ।

युएईविरुद्ध २० औं ओभरमा सन्दीप लामिछानेले १८ रन बनाएका गुलाम साब्बरलाई एलबीडब्ल्युमा पारे । २१ औं ओभरमा पारस खड्काले मोहम्मद उस्मानलाई ललित राजवंशीबाट क्याचआउट गराउँदा नेपालले चौथो सफलता पायो ।

करण केसीले चुन्डोपिल रिजवानलाई ४५ रन बनाएको अवस्थामा विनोद भण्डारीबाट क्याचआउट गराएपछि नेपाललाई पाँचौ सफलता मिल्यो । पाँचौ विकेट गुमाएपछि सम्हालिएको युएईका शैमान अनवर र मोहम्मद बुताले उत्कृष्ट ब्याटिङ गर्दै खेलमा फर्काए । अनवरले ८७ रन जोड्न सफल भए भने बुताले ५९ रन बनाए । एकदिवसीय शृंखला सकिएपछि नेपाली टोलीले यूएईसँग तीनवटा टीट्वेन्टी खेलको शृंखला खेल्ने छ ।