सडक दुर्घटनामा परि स्पेनमा स्याङजाका कोइरालाको मृत्यु

एजेन्सी, जेठ १६ ।
स्पेनको बार्सिलोना बस्दै आएका २२ वर्षीय एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी ज्यान गएको हो ।

साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

होम डिलीवरीको सेवा दिने एक कम्पनी ग्लोबोमार्फत खाना पुर्याउन हिँडेका उनीले ५ दिनअघि मात्रै साइकलमा सामान डेलिभरी गर्ने काम थालेका थिए । यसअघि पितालाई गुमाइसकेका उनी परिवारको एक्लो छोरा हुन् ।

अध्ययनका लागि २ वर्षअघि जर्मनी आएका कोइराला स्थायी बसोबासका लागि कागजी प्रक्रिया सहज हुने देखेर ७ महिनाअघि स्पेन आएका थिए । नआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छ । संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाबारे परिवारलाई जानकारी दिइसकेको बताएका छन् । उनका अनुसार शव नेपाल पठाउन कानूनी प्रक्रियासँगै आर्थिक संकलनको काम सुरु भएको छ ।