सडक अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर भत्काउन सुरु

बुटवल, बैशाख १३ ।

बुटवलको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालिएको छ । बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सडक विस्तार गर्न डोजर लगाएर घरटहरा भत्काउन शुरु गरेको हो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तार गर्दा अतिक्रमण गरी बनेका ३ सय ११ घर भत्काउनुपर्नेछ । आयोजनाको सूचनापछि २५ घरधनीले मात्रै घर भत्काएका छन् ।

आयोजनाका प्रवक्ता ईन्जिनियर गोविन्द श्रेष्ठले अटेरी भएपछि सडक क्षेत्रभित्रका घरमा डोजर लगाएर भत्काउन थालिएको बताए । चार वर्ष अघि चार लेनमा विस्तार गरिएको सडकलाई अहिले पुनः छ लेन बनाउन थालिएको हो । सडक विस्तार रोक्न ४२ जना घरधनीले घर ‘नभत्काई पाऊँ’ भन्दै सर्वोच्च अदालत र तुल्सीपुर उच्च अदालत बुटवल मुद्दा दर्ता गरेका थिए । हालै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने निर्णय गरेपछि आयोजनाले ठेकेदार कम्पनीलाई काम शुरू गर्न आग्रह गरेको हो । यो सडक विस्तार आउँदो २०७६ असोजसम्म सक्नुपर्ने सम्झौता छ ।