सकियो अन्तराष्ट्रिय बौद्ध सम्मेलन

प्रकाश ढकाल
लुम्बिनी, वैशाख १८ ।

बुद्ध जन्मस्थल विकासको १० बुँदे प्रतिबद्धता जारी गर्दै लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । २ दिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलसहित बुद्धधर्मलाई विश्वशान्तिको मुहानको रुपमा स्वीकार गरेको छ । सन् २०१६ को लुम्बिनी घोषणापत्रले लुम्बिनीलाई बुद्धभुमी, बौद्धधर्म र विश्वशान्तिको मुहानको रुपमा स्थापित गरेको थियो । सोही घोषणालाई प्राथमिकताका साथ विश्वस्तरमा प्रबद्र्धन गर्ने बौद्ध सम्मेलनको मुख्य निर्णय छ । २३ देशका उच्च ब्यक्तित्व, बौद्ध विद्वान, धर्मगुरु र भिक्षुहरुको सहभागीतामा भएकोे सम्मेलनले बुद्धभूमीबारे फैलिएका नकारात्मक प्रचार अन्त्य गरी लुम्बिनीलाई बुद्धको जन्मभूमीका रुपमा स्थापित गर्ने बुँदालाई सर्वमतले पारित गरेको हो ।

यस्तै, केन्जो टागेंद्वारा डिजाइन गरिएको लुम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रुपमा सम्पन्न गर्ने निर्णय भएको छ । घोषणापत्रले एसियामा बढ्दो जातीय हिंसा अन्त्यका लागि विश्व बौद्ध समुदायलाई एकीकृत गरी काम गर्ने निर्णय पनि गरेको छ । यस्तै लुम्बिनीमा शान्ति स्थापित गरी द्वन्द्व निरुपणको लागि अन्तराष्ट्रिय केन्द्र बनाउने, लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थल सर्किटको रुपमा स्थापना गर्ने बिषय पनि घोषणापत्रमा उल्लेख गरिएको छ । ‘लुम्बिनीलाई एसियाको बृहत्तर तीर्थस्थल सर्किटको रुपमा स्थापना गरिनेछ । यसलाई भारतको बोधगया, सारनाथ, कुशीनगरसँग जोडेर श्रीलंका, म्यानमार, बंगलादेश, चीन र पाकिस्तानसम्मको बौद्ध सम्पदाहरुलाई प्रवर्द्धन गर्ने उद्देश्य छ, घोषणापत्रमा भनिएको छ–कपिलवस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातु भएको स्थल) हरुको बृहत् महत्वलाई हृदयंगम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिस्ट सर्किट अन्तर्गतको रुपमा एकीकृत बृहत् लुम्बिनी गुरु योजनाको रुपमा निर्माण गरिनेछ ।’

बृहत्तर लुम्बिनीको पुरातात्विक, संस्कृतिक र प्राकृतिक सम्पदाहरुलाई एकीकृत रुपमा व्यवस्थापन गरी संरक्षण गर्ने तथा लुम्बिनीको वातावरण संरक्षण गरी सबै किसिमका प्रदुषणमा हुने स्रोतको अनुगमन र नियन्त्रण गर्ने घोषणा पनि छ । बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रुपमा विकास गर्ने र लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरुको सञ्जालको लागि शुभारम्भ गर्ने गरि तयार भएको घोषणापत्रमा सबैले समर्थन जनाएका छन् ।

सम्मेलनलाई एक समारोहका बीच समापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले २ दिने सम्मेलनले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभइ बुद्ध धर्मको उद्गम थलोको रुपमा पुष्टी भएको बताए । ‘अशान्तिको अँध्यारोबाट हटाउन बुद्ध र बुद्ध दर्शनको महत्वपूर्ण योगदान छ । तर हामीले बुद्धको पथलाई समात्न सकेका छैनौं, उनले भने–बुद्धभूमीलाई अव अन्तराष्ट्रिय बुद्धीजम अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्छ । यसका लागि सरकार तयार छ ।’ प्रधानमन्त्री ओलीले लुम्बिनी गुरुयोजना समयमै पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले बुद्धभूमीको प्रचार र विकासका लागि अन्तराष्ट्रिय बौद्ध सम्मेलन कोशेढुंगा सावित हुने उल्लेख गरे । ‘सम्मेलन औपचारिक कार्यक्रम मात्रै होईन । यसको ठूलो महत्व छ, उनले थपे–बुद्धभूमीबारेको नकारात्मक प्रचार अब कसैले गर्दैन । संसारले थाहा पाईसक्यो, बुद्ध नेपालमा जन्मिएका हुन् ।’ प्रत्येक बर्ष बुद्ध जयन्ती भब्य रुपमा मनाउने र हरेक २ बर्षमा अन्तराष्ट्रिय स्तरको बौद्ध सम्मेलन गर्ने सरकारको घोषणा रहेको अधिकारीले जानकारी दिए ।