संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड

पोखरा, असोज  ६  ।

संसदीय गतिविधि सर्वसाधारणका लागि खुला हुनुपर्नेमा जोड दिइएको छ । फ्रिडम फोरमले पोखरामा आयोजना गरेको खुला संसद अवधारणा र अभ्यास विषयमा भएको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।सहभागीहरुले नागरिक समाजको निगरानी कम हुनु र सञ्चार माध्यमले विश्लेषणयुक्त समाचारलाई स्थान नदिनु चिन्ताको विषय भएको उल्लेख गरे । उनीहरुले संसदमा भएका गतिविधि, सांसदको कुरा, कानुन लगायतका विषय जनतासामु ल्याउन गण्डकी प्रदेश सभा थप क्रियाशिल हुनुपर्नेमा जोड दिए ।

 

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले प्रदेशमा संसदीय अभ्यास शुरु भएको धेरै समय नभएको बताउदै पारदर्शी बनाउन लागिपरेको उल्लेख गरे । उनले यसअघि नै स्थापित पूर्वाधारमा बसेर संसद चलाएको बताउदै आगामी दिनमा जनताकोबीचमा जाने गरी पूर्वाधार र प्राविधिक पक्षलाई जोड दिएको प्रष्ट पारे । ‘हाम्रो कामलाई पारदर्शी बनाउनुपर्छ । जनताले थाहा पाउनुपर्छ भन्ने मेरो मान्यता छ, उनले थपे, ‘यस कार्यमा सबैको साथ आवश्यक छ ।’

 

प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारीले खुला संसदको विषयमा संसदमै छलफल हुनुपर्नेमा जोड दिईन् । उनले संसदले गर्ने कामवार्हीबारे सञ्चारजगतले प्रभावकारी ढंगले बाहिर ल्याउनुपर्ने बताईन् । फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले संसदको प्रभावकारिता वृद्धि गर्न खुला संसदको सोचाईलाई देशव्यापी छलफल अघि बढाउन खोजेको प्रष्ट पारे । जनताको गुनासो सुन्ने निकाय संसद नै भएको बताउदै यसलाई विश्वासीलो बनाउन सरकार र राजनितिक पार्टी लाग्नुपर्ने उनको भनाई थियो । ‘संसदको भूमिका सक्रिय हुन सकेको खण्डमा प्रजातान्त्रिक प्रक्रिया बलियो हुन्छ,’ उनले अगाडी थपे, ‘संसदप्रति जनताको विश्वास घटेमा प्रणालि नै कमजोर हुँदै जान्छ ।’

 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले राजनीतिक दलले प्रजातान्त्रिक अभ्यास गर्नुपर्ने उल्लेख गरे । उनले प्रदेश सभामा आएका विधेयकहरु व्यापक छलफल गरि अगा८ िबढाउनुपर्नेमा जोड दिए । ‘अहिलेसम्म आएका विधेयकबारे छलफल नै भएको छैन । प्रदेश सभाको क्षमतामाथि नै प्रश्न उठेको छ,’ उनले अगाडी भने, काम नपाएर प्रदेश सभाले काम गर्न सकेको छैन । यसमा सभामुखको भूमिका हुनुपर्छ ।’उच्च अदालत, पोखरा बारका अध्यक्ष रोहितराज बास्तोलाले विज्ञहरुको ज्ञानलाई राज्यले उपयोग गर्नुपर्ने उल्लेख गरे । भद्रकाली क्याम्पसका प्राध्यापक किशोरदत्त बरालले गहिरो अध्ययन नगरि बनेका कानुनको कार्यान्वयन पक्ष फितलो हुने बताए ।

 

अग्रज पत्रकार नारायण कार्कीले सुचना लुकाउन परम्परा कायमै रहेको टिप्पणी गरे । गण्डकी प्रदेश सभाका निमित्त सचिव हरि प्रसाद बास्तोलाले संसदीय गतिविधि प्रत्यक्ष प्रसारणका लागि प्रयास गरिरहेको जानकारी दिए । कर्णाली, सूदुरपश्चिम, ५ नं. प्रदेशमा यो छलफल भईसकेको फोरमले जनाएको छ । संसद सहयोग परियोजना यूएनडिपीको सहयोगमा सो कार्यक्रम भएको हो । कार्यक्रममा नागरिक समाज, संसदीय पत्रकार, सम्पादक, गैर सरकारी संस्थाकाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।