संविधानको प्रतिकूल हुनेगरी विधेयक ल्याइएको आरोप

 

काठमाडौं, चैत ४ ।

सरकारले हालै ल्याएको नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि मंगलबार संघीय संसदअन्तर्गत् विधायन व्यवस्थापन समितिमा दफावार छलफल भएको छ ।

समितिमा सदस्यहरुले विधेयकले नागरिकको मौलिक हक र स्वतन्त्रता कुन्ठित हुनसक्ने बताएका छन् ।

विधेयकमा मौलिक हकलाई निस्तेज गर्ने खालका प्रावधानहरु पनि रहेको भन्दै उनीहरुले त्यसलाई हटाउन माग गरे ।

नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले संविधानको प्रतिकूल हुनेगरी विधेयक ल्याइएको आरोप लगाए ।

छलफलमा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले राज्यविरुद्ध हुनसक्ने कुनैपनि जासुसी क्रियाकलाप र भड्काउयुक्त गतिविधि नियन्त्रण गर्न नयाँ कानुनी व्यवस्थाले सहयोग पुग्ने बताए ।

राष्ट्रिय हित र सुरक्षाका विषयमा रक्षात्मककार्य गर्न संशोधित विधेयकले मार्गप्रशस्त गरेको उनको दाबी थियो ।
(ईमेजखबरबाट साभार)