संघको पूरानो चमक फर्काउन उम्मेदवारी दिएँः बर्तौला

पोखरा, पुस २४ ।
पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेसन सम्मुखमा छ । उम्मेदवारी दर्ता भैसकेको छ । उम्मेदवारहरु प्यानल खडा गरेर चुनावमा होमिएका छन् । मतदाता रिझाउन घरघरै पुगेका छन् । तीन दशकअघि व्यापार र व्यवसायका लागि पोखरा छिरेका धर्मराज बर्तौलाले पनि संघको उपमहासचिव पदमा दावेदारी प्रश्तुत गरेका छन् । बर्तौला संघको पूरानो चमक फर्काउन आफुले उम्मेदवारी दिएको बताउँछन् ।

‘म पोखरा छिर्दा उद्योग वाणिज्य संघसँग गज्जबको लिगेसी थियो मान्छेको । कतिपय अभियानको थालनी यही संस्थाले गरेको हुन्थ्यो । अधिकांश विकास र समृद्धीको नेतृत्व संघले गरेको छ,’ उनले भने, ‘अहिले संघको पूरानो गरिमा धमिलिएको छ । मैले त्यही तीन दशक अघिको चमक फर्काउनका लागि उम्मेदवार बनेको हुँ ।’

उनी मतदाता फकाउनका लागि घरदैलोमै व्यस्त छन् । मतदातासँग भेट्दा संघमा भएको राजनीति प्रति उद्योगी व्यवसायी निराश पाएको उनले सुनाए । ‘जता गयो उतै संघ भित्रको राजनीतिको गुनासो सुन्नुपर्छ । उद्योगी व्यवसायीका भन्दा आफ्ना माउ पार्टीका लविङ गरेको गुनासो सुन्नुपर्छ,’ उनले भने, ‘मेरो उम्मेदवारी त्यही दुर्गन्ध सफा गर्नका लागि हो । उद्योगी, व्यवसायीका साझा र अभिभावकीय संस्था बनाउनका लागि हो ।’

बर्तौलाले आफु पर्याप्त समय निकालेर सामाजिक संस्थामा लागेको सुनाए । ‘एकदिन चुनावमा देखिने त्यसपछि गायव हुने चलन छ । चुनावभन्दा अरु समय कसैले त्यो मान्छेलाई भेट्दैन,’ उनी भन्छन्, ‘संस्थामा समय दिन नसक्ने हो भने नेतृत्वमा दावी गर्नु गलत हो । व्यापारलाई एकातिर राखेर नितान्त सामाजिक संस्थामा समय दिन्छु भनेर उम्मेदवारी दिएको छु । मलाई विश्वास गर्नुहुन्छ भन्ने लागेको छ ।’

संघमा नयाँ भएपनि पोखराको व्यवसायिक आन्दोलनमा धेरै पहिलेदेखि काम गरेको उनले बताए । बर्तौला तिनै ब्यक्ति हुन्, जसले नाकाबन्दीका बेला आफ्नै गाडीमा ग्याँस हालेर दुखमा परेकाहरुको चुल्होमा पुगेका थिए । ‘देशले ठूलो संकटको सामना गर्नुप¥यो । उपभोक्ताका चुल्हो नबल्ने अवस्था भयो । हट्टाकट्टा त जसोतसो गर्थे । सुत्केरी, विरामी र अशक्तहरुको अवस्था जटिल थियो,’ उनी सम्झन्छन्, ‘मैले आफ्नै गाडीमा ग्याँसको भुड्को हालेर उनीहरुको चुल्होमा पु¥याएँ । म कर्ममा विश्वास गर्ने मान्छे हुँ । पक्कै नाकाबन्दीको गुन सम्झिनुहुन्छ भन्ने विश्वास लागेको छ ।’

उपमहासचिव पदको उम्मेदवारी दिएका उनी गृहलक्ष्मी ग्याँस कम्पनीका अध्यक्ष हुन् । त्यसबाहेक पोखरामै पर्यटनको क्षेत्रमा समेत उनले लगानी गरेका छन् । हेलि एयर कम्पनी (पुतली जहाज) मा उनको लगानी छ । यसबाहेक थुप्रै व्यापारिक र औद्योगिक क्षेत्रमा लगानी गरेका छन् भने सामाजिक संस्थाहरुमा पनि सक्रिय छन् ।

मतदातालाई भेट्दा आफुसँग उत्साह र काम गर्ने जिम्मेवारी थप भएको उनको महसुश छ । अहिलेसम्म संघ केहि व्यक्तिको मुठ्ठीमा रहेको भन्दै त्यसलाई तोड्ने विश्वास वर्तौलाले गरे । ‘मलाई उद्योग वाणिज्य संघ आशिर्बादले चलेजस्तो लाग्यो । २–४ जनाले जसलाई निर्वाचित गर्न चाह्यो, उही जित्ने । राम्रा भएपनि कतिपय मान्छेहरु ति २–४ जनाको नजरमा परेन भने पराजीत हुने रहेछन्,’ उनले थपे, ‘अव त्यो अन्त्य हुनुपर्छ । समग्र व्यवसायीको हितको लागि सक्षम नेतृत्व दिनुपर्छ ।’ आफुले निर्वाचन जिते पोखराको उद्योगी, व्यवसायीको हक हितका लागि निरन्तर लाग्ने उनको प्रतिबद्धता छ ।