श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिइन, त्यो मोड जसले अघि बढ्न दिएन श्रृंखलालाई

पोखरा, मंसिर २२ ।
नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

एक महिनाअघि श्रृंखला मिस वर्ल्ड प्रतिस्पर्धाका लागि चीन गएदेखि नै नजिकबाट सहयोग गरिरहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले उनी टप १२ बाट बाहिरिएपछि दिएको प्रतिक्रिया हो यो । शनिबार चीनको सान्या शहरमा आयोजित फाइनलमा शीर्ष ३० पार गर्दै टप १२ सम्म पुगेकी उनले इतिहास रच्ने माल्भिकालाई विश्वास थियो ।

पूर्व मिस नेपाल माल्भिका मात्रै हैन, कयौँ नेपालीहरुले यो पटक मिस वर्ल्डको ताज नेपाल आउने आशा गरेका थिए । श्रृंखलामाथि भरोसा गरेका थिए । यो बीचमा उनको प्रस्तुति र उनीबारे राष्ट्रिय एवं अन्तराष्ट्रिय मिडियामा भएको कभरेजले पनि श्रृंखलामाथि विश्वास बढाइदिएको थियो । विश्वभरका १ सय १८ सुन्दरीहरुबीच प्रतिस्पर्धा हुँदा उनले देखाएको आत्मविश्वासले विश्वभर छरिएर रहेका नेपालीलाई रोमाञ्चित मात्र बनाएन, उनीमाथिको भरोसा पनि बढाइदियो । अपेक्षा पनि चुलाइदियो ।

’हेड टू हेड’ विधामा शीर्ष २० मा परेकी उनी सो विधाबाट टप ३० मा पुग्न सकेकी थिइनन् । त्यसपछि निराश बनेकी उनले एक्कासि दरिलो प्रस्तुतिसहित ब्युटीविथ पर्पसको अवार्ड जितिन् । विश्वभर छरिएर रहेका नेपालीको मायाकै कारण उनले सानियामा भेला भएका सुन्दरीहरूमध्ये सबैभन्दा बढी भोट पाउन सफल भइन् । रवाफिलो भोट पाएकी मल्टिमिडिया अवार्ड त्यही भोटको उपलब्धि हो । यी दुई विधामा अवार्ड जित्दै मिस वर्ल्डको फाइनलमा पुगेकेपछि उनी निकै उत्साही देखिएकी थिइन् । उनले मिस वर्ल्ड टाइटललाई नै लक्ष्य बनाएको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।

‘साँच्चै भन्नुपर्दा ब्युटी विथ पर्पसको उपाधि मेरा लागि मिस वर्ल्ड जिते जतिकै महत्वपूर्ण छ’, उपाधि हात पारेपछि मिस वर्ल्डका सोसल मिडिया संवाददाता जेके मिराजलाई अन्तर्वार्ता दिँदै उनले भनेकी थिइन्, ‘तर अझै धेरै गर्न बाँकी छ। टाइटलका लागि थप मिहिनेत गर्नेछु ।’

स्पष्ट विचार, लगनशील र स्थितिको सही आँकलन गर्न सक्ने क्षमता देखेका नेपालीहरूले उनी शीर्ष १२ बाहिरिँदा सन्तुष्ट हुन नसक्नु स्वभाविक हो । राम्रो प्रस्तुति, भिडियो ब्लगर र अन्तराष्ट्रिय मिडियाहरूले उनीबारे गरेका चर्चाले नेपालमा धेरैमा अपेक्षा बढाइदिएको पनि साँचो हो । निजी प्रस्तुतिमा समेत सशक्त देखिएकी उनी मिस थाइल्यान्डले पछि पार्दा शीर्ष पाँचमा पुग्नबाट रोकिइन् । शीर्ष १२ को घुम्ती पार गरेकी भए उनी मिस वर्ल्ड छनौट हुने राउन्ड शीर्ष ५ मा पुग्ने थिइन् ।