शोकमा श्रेया परिवार, अपराधीलाई फाँसीको सजाएँ माग्ने पहारीको बचन

पोखरा, असोज २२ ।
बलात्कारपछि १० बर्षिया बालिकाको हत्या भएपछि श्रेया सुनारको परिवार यतिबेला शोकमा छ । पोखरा पुम्दीभुम्दीकी श्रेया सुनारको गत असोज ८ गते बलात्कारपछि हत्या गरिएको थियो । छिमेकी कुशुम पौडेलले उनको हत्या गरेका हुन् ।

श्रेयाको हत्यापछि परिवार निकै पीडामा छ । बाबुले छोडेर गएपछि दुईबर्षदेखि श्रेयाकी दिदीले घरबार चलाउँदै आएकी थिईन् । आमा बेलमाया बिरामीले थला परेपछि चटपट बेचेर घरको गुजारा चलाउने श्रेयाकी दिदीले पनि बहिनीको हत्यापछि काम गर्न छोडिन् । १४ बर्षिया बालिकाले पढाई छोडेर घरबार धानेपनि अहिले सुनार परिवारमा आम्दानीको श्रोत ट्याप्पै सुक्यो ।

कोहीकोही भेट्न गएकाहरुले राहातको नाममा केही नगद सहयोग पनि गरिरहेका छन् । तर स्थायी आम्दानीको श्रोत छैन । सोमबार प्रदेश सांसद राजीव पहारी सहितको टोलि श्रेयाको घरमा पुग्यो र परिवारलाई समवेदना सहित केही आर्थिक सहयोग गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा र प्रहरी प्रमुख एसपी ओम रानाले पनि परिवारलाई समवेदना दिए । सोही क्रममा पहारीले १० हजार र प्रहरी प्रमुख रानाले सम्मानबाट आएको २० हजार रुपैयाँ श्रेयाको आमालाई दिए ।

सांसद पहारीले दोषीलाई फाँसीको ब्यवस्था गर्न सदनमा आवाज उठाउने प्रतिबद्धता जनाए । देशमा दिनहूँ बढिरहेका हत्या, बलात्कार जस्ता जघन्य अपराधका दोषीलाई काराबासले मात्रै नपुग्ने भन्दै उनले फाँसीकै ब्यवस्था हुनुपर्ने बताए ।

२४ घण्टाभित्रै हत्यारा पत्ता लगाएर कास्की प्रहरीले ठूलो सफलता पाएको भन्दै उनले अव कारबाही प्रक्रिया पनि द्रुत गतिमा अघि बढ्नुपर्ने बताए । ‘प्रहरीले सक्रियता नदेखाएको भए कञ्चनपुरमा जस्तो महिनौ दिनमा पनि हत्यारा पत्ता लाग्दैनथ्यो । हत्यारा पत्ता लागिसकेको छ अव कडा कारबाही गर्न दवाव दिनुपर्छ, उनले भने–प्रमाण नपुगेर अदालतबाट छुट्ला भन्ने पिर पनि छैन । आवश्यक सबै प्रमाण प्रहरीले जुटाईसकेको छ ।’

कास्कीका सिडिओ चक्रबहादुर बुढाले प्रहरीले सँधै अभिभावक भएर पहरेदारी गर्ने बताए । उनले बेलाबेला हुने अकल्पनीय घटनालाई पनि कम गर्न विशेष पहल हुने बताएका छन् । कास्की प्रहरी प्रमुख एसपी ओम रानाले श्रेया हत्याकान्डको अनुसन्धान अन्तिम चरणमा पुगिसकेको बताए ।