शुक्लागण्डकीमा प्याराग्लाइडिङको परीक्षण उडान

तनहुँ, असोज ८ ।
शुक्लागण्डकीमा पहिलो पटक प्याराग्लाइडिङ गरिएको छ । शुक्लागण्डकी–२ स्थित दगामबाट गरिएको परीक्षण उडान वडा नं. ३ स्थित वनकेवामा आएर अवतरण गरिएको हो । शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्को अगुवाइमा नगरपालिकाको अनुमति लिएर सो उडान गरिएको हो ।
नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतले भुजिकोटबाट ३ वटा प्याराग्लाइडिङ एकैपटक उडान गरी अवतरण गरेको जानकारी दिए । पोखरामा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणसँगै प्याराग्लाइडिङ उडान वैकल्पिक रुपमा पहिचान गर्नुपर्ने भएकाले विभिन्न स्थानमा आफूहरु पुगेर परिक्षण उडान गरिरहेको रावतले बताए । उनले भने ‘अब एक ठाउँमा मात्र यसलाई सिमित राख्नु हुँदैन, सम्भावित क्षेत्रको पहिचान गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्नुपर्छ ।’
सोलो पाइलट गणेश थापा, राजेश खनाल र वसन्त तिमिल्सिनाले परीक्षण उडान गरेका हुन् । सफल उडानपछि उनीहरुले दृश्यवलोकनको लागि महत्वपूर्ण स्थान रहेकाले व्यवसायिक रुपमा अगाडि बढाउन सुझाव दिए ।
सोलो पाइलट राजेश खनालले यस क्षेत्रको बजार, हरियाली वनजंगल र पोखराको दृश्यले पर्यटकलाई लोभ्याउने उल्लेख गरे । उनले भने, अब टेक अफ गर्ने उपयुक्त स्थान भएमा व्यसायिक रुपमा उडान गर्न सकिन्छ, त्यो स्थानीयले खोज्नु पर्छ ।
वडा नं. ३ का अध्यक्ष रामकुमार श्रेष्ठले केही महिनादेखिको प्रयास सफल भएको बताउँदै साहसिक खेलको प्रवद्र्धनको लागि वडाबाट हुने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्का सचिव नारायण श्रेष्ठले परिषद्ले सम्भावित पर्यटकीय क्षेत्रको खोजी गरी व्यवसायिक रुपमा यस क्षेत्रको विकास गर्न लागि परेको उल्लेख गरे । उनले प्याराग्लाइडिङ शुरुआतको चरण भएको जानकारी दिए ।
होमस्टेको रुपमा विकास भइरहेको भुजिकोटबाट पोखरा, लेखनाथ, मनोरम हिमशृखंला, दुलेगौडा, खैरेनीटार, ढोरफिर्दी बजार प्रष्ट रुपमा देख्न सकिन्छ । व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान गर्न सके समग्र शुक्लागण्डकीको विकासमा समेत ठूलो टेवा पुग्ने शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्का अध्यक्ष पूर्णकुमार श्रेष्ठको भनाइ छ ।
सफल अवतरण पश्चात वडा नं. ३ का स्थानीयहरुले वनकेवामा अबिर र माला लगाएर भव्य स्वागत गरेका थिए भने दगामका स्थानीयले बिदाइ गरेका थिए ।