शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता

पोखरा, ३० साउन ।

नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने भएको छ । गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा आयोजकले जनाएको छ ।

पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो २ बजे बाट उद्घाटन कार्यक्रम शुरु हुने संयोजक मानकाजी माकाजुले जानकारी दिए । उक्त दिन नेवारी साँस्कृतिक नृत्य, बाजा, तथा साँस्कृतिक कार्यक्रम हुनेछ ।

प्रतियोगितामा पोखराका बिभिन्न टोलका ३० टोलीले प्रतिस्पर्धा गर्ने भएको छ । जसमा ६ वटा महिला टोली रहेको आयोजकले जनाएको छ । साउन ३१ र ३२ गते सम्म दुइ दिन चल्ने महोत्सवमा चेतनामुलक मुलक फेसन सो, लाईभ ब्याण्ड मार्फत सांगितिक कार्यक्रम, नेवारी मौलिक नाच, विभिन्न जातीका नाच, नेवारी खानाका परिकार साथै २० वटा स्टल रहने छ ।

लाइभ कन्र्सट अन्र्तगत मौलिक बाजाका लागि ख्यातिप्राप्त लक्ष्य व्याण्ड, तन्त्र व्याण्ड तथा देउराली व्याण्डको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक बुद्धराज बुद्धाचार्यले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न ८ विधाहरुमा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितमा प्रथम हुनेले नगद ३० हजार सहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै द्वितिय हुनेले नगद २० हजार शिल्ड तथा प्रमाणपत्र, तृतीयले नगद १० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वनाले नगद रु ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

विधागत पुरस्कार अन्तर्गत उत्कृष्ट ख्याली, बाद्यबादक, उत्कृष्ट परि र उत्कृष्ट जोक्करले रु २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रममा सहभागि हुने महिला टोलीहरु मध्ये प्रोत्साहन स्वरुप एक टोलीलाई उत्कृष्ट घोषणा गरी रु १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

पोखरामा तायमचा नृत्य प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो । त्यस पश्चात २०३८ सालमा युनेस्को क्लब, २०३९ सालमा सिद्धार्थ क्लब र महेन्द्रपुलका युवाहरुले प्रतियोगिता गराएका थिए । नेवाः खलः कास्कीले २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता आयोजना गर्दै आएको छ । यो पटकको जिम्मा महेन्द्रपुलले पाएको हो ।

महोत्सवलाई सम्पन्न गर्नका लागि मानकाजी माकाजुको संयोजकत्वमा विभिन्न उपसमिती बनाइएको छ । १७ वटा उपसमितीहरुमा सुरक्षा व्यवस्थापन संयोजक भरत मानन्धर, खाना व्यवस्थापनमा पुष्पलक्ष्मी लाभाजु, अतिथी सत्कारमा ओमलाल बड्गामी, प्रचारप्रसारमा विकल साई संयोजक रहेका छन् । यस्तै मञ्च व्यवस्थापनमा बुद्ध गुभाजु, साउण्डमा बुद्धराज गुभाजु, स्वंमसेवक परिचालनमा रविन मानन्धर, अर्थमा विष्णुमान कायस्थ, व्यानर व्यवस्थान संयोजकमा निर्मल जोजिजु रहेका छन् । यसैगरि फोटोमा दीपक मुल्मी, साँस्कृतिकमा सुमन मर्सानी, स्वास्थ्यमा इन्द्रकमल मानन्धर, यातायातमा अनन्त कायस्थ संयोजक रहेका छन् । यसैगरि छपाइ व्यवस्थापनमा असिम पालिखे, सजावटमा निश्चल श्रेष्ठ, स्टल व्यवस्थापनमा रोशन महर्जन र मायाको चिनो तथा प्रमाणपत्र व्यवस्थापनमा कृष्ण मानन्धर संयोजक रहेका छन् ।

नेवार समुदायमा कसैको मृत्यु भएमा त्यसैबर्ष जनैपूर्णिमाको भोलीपल्ट प्रतिपदाको दिन पितृ उद्दारार्थ मृत्यु हुने व्यक्तिको लुगा, गरगहनालाई सजिसजाउ गरी महिला भए गाई र पुरुष भए गोरुको कलात्मक मुकुण्डो बनाई बजार परिक्रमा गर्ने गरिन्छ । प्रारम्भ काठमाण्डौं उपत्यकाका तत्कालिन राजा प्रताप मल्लले पुत्र वियोगमा रहेकी आफ्नी रानीको मन वहलाउनका लागि गरेको भनाइ प्रचलित छ ।

तायमचा नाचको प्रतियोगिता गर्ने चलन वि.सं २०२६ सालमा शुरु भएको हो । पहिलो तायमचा नृत्य प्रतियोगितामा रानीपौवा प्रथम भएको थियो भने दोश्रो पटकको प्रतियोगितामा तेसापट्टी प्रथम भएको थियो। उहाँका अनुसार तायमचा नृत्य प्रतियोगिता युनेस्को क्लब (२०३८साल), सिर्द्धार्थ क्लब (२०३९साल) र महेन्द्रपुलका युवाहरुले (केहि पटक) प्रतियोगिता गराएका थिए भने बीचबीचमा प्रतियोगिता रोकिएको पनि थियो । खासगरी नेवाः खलः कास्कीको स्थापना भए पछि २०५६ सालदेखि पोखरामा विभिन्न टोलहरुमा पालैपालो तायमचा नाच प्रतियोगिता हुँदै आएको छ ।