शिवरात्रीमा सत्याकृत व्याण्डको प्रस्तुति

पोखरा, माघ २३ ।
लेकसाइड हल्लनचोकमा शिवरात्रीको अवसरमा ‘महाशिवरात्री साँगीतिक कार्यक्रम’ हुने भएको छ । फागुन १ गते हल्लनचोकमा साँझ ६ बजेदेखि सत्याकृत व्याण्डको प्रस्तुति रहने छ । फ्लाइङ बुद्ध प्याराग्लाइडिङ र टिम फाइभ नेपाल प्याराग्लाइडिङको मुख्य आयोजना तथा सामुदायिक सेवा केन्द्र वैदामको सहयोगमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सत्याकृत व्याण्डले प्रेरणादायी, सकारात्मकभाव सहितका शब्द संयोजनका पूर्वेली, पश्चिमेली शैलीका गीत, भजन प्रस्तुत गर्ने फ्लाइङ बुद्ध प्याराग्लाइडिङका संचालक प्रेम बसेलले जानकारी दिए । व्यान्डले झन्डै दुई घण्टा प्रस्तुति दिने बसेलले बताए । बसेलका अनुसार कार्यक्रम निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘हरेक उमेर वर्गका व्यक्तिहरुलाई मन पर्ने प्रस्तुति दिनेछौं,’ उनले भने, ‘शिवरात्रीमा नो गाजा नो भाङ त्यहाँ भक्तीको खाजा मात्र हुन्छ । भक्तीको नसामा डुवेर कार्यक्रम हेर्न पाउनुहुनेछ । ’
‘युवाहरुमा नैतीक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक व्याण्ड ‘सत्याकृत व्याण्ड’ रहेको व्यान्डका म्यानेजर विजय गौतमले बताए । विगत ५ वर्ष अघि स्थापना भएर नेपालभित्रका मुख्य सहर धरान, इटहरी, सर्लाही, विराटनगर, नारायणगढ, खाडी चौर, चरीकोट, पोखरा, दमक लगायत विभिन्न स्थानहरुमा औपचारिक तथा अनौपचारिक प्रस्तुति दिइसकेको गौतमले बताए । उनका अनुसार नेपाल बाहिर दार्जि्लिङका विभिन्न स्थानहरुमा समेत आफ्नो प्रस्तुति देखाइसकेको छ । शिवरात्री साँगीतिक कार्यक्रममा टी टाइम रेष्ट्रो, पोखरा पिज्जा, साधना योगा रिट्रिट, नेपाल प्याराग्लाइडिङ पाइलट क्लब, खहरे दाजुभाई युवाक्लब, खहरे आमा समूह, बाबु एड्भेन्चर स्कुलले कार्यक्रमलाई सपोर्ट गरेको छ ।
व्यान्डले माघ १२ गते भएको ‘हिट्स एफएम म्युजिक अवार्ड –२०७४’ मा ‘वेस्ट गु्रपपर्फमेन्स’ विधाको छनौटमा मनोनीत भई व्याण्डको ‘गणेश गणनायक’ नामक गीतले उत्कृष्ट अर्वाड प्राप्त गरिसकेको व्यान्डका अर्का सदस्य लक्ष्मण बयलकोटीले बताए । व्यान्डले केही समय पहिले पशुपति शर्माको आवाजमा ‘सत्य सत्य मिलेर’ गीत बजारमा सार्वजनिक गरेको थियो ।