शिक्षकले स्कुलमै खुकुरी देखाए, खोस्दा विद्यार्थीको हात काट्यो

नवलपरासी, फागुन २३ ।
नवलपरासीको एउटा विद्यालयमा शिक्षक एवम् पूर्वप्रधानाध्यापक खुकुरी देखाउँदै विद्यालय पुगेपछि विद्यालयमा त्रास छाएको छ ।विद्यालयका प्रधानाध्यापकबाट राजिनामा दिन परेपछि आक्रोशमा आएका जितबहादुर चौधरीले बुधबार एक्कासी खुकुरी लिएर विद्यालय पुगेका थिए ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ हरपुर माविमा पूर्वप्रधानाध्यापक समेत रहेका चौधरी विद्यालयमा श्रीमती र छोरी सहित होहल्ला गर्दै नयाँ शिक्षकमा नियुक्त भएका सेवरी हरिजनसँग विवाद गर्न पुग्दा विद्यालयका अन्य शिक्षकहरुले प्रतिवाद गर्दा उनले कक्षाकोठामै श्रीमतीसँग रहेको झोलाबाट खुकुरी झिकेका थिए ।

उनले लिएको खुकुरी खोस्ने क्रममा एक जना विद्यार्थीको हातमा चोट पनि लागेको स्थानीयले जनाएका छन् । पूर्व प्रधानाध्यापक एवम् हालका शिक्षक समेत रहेको चौधरीले कक्षाकोठामै खुकुरी देखाएर ताण्डव गर्न थालेपछि उनलाई नियन्त्रणमा लिन प्रहरी नै विद्यालय हाता भित्र पुग्नु परेको थियो ।

विद्यालय व्यवस्थापन समितिको निर्णय विरुद्ध दुई नयाँ शिक्षक नियुक्तिका विषयलाई सदर गर्न नखोजेका चौधरीले सोही विषयमा विवाद चर्कदै गएपछि उनलाई समितिले प्रधानाध्यापकबाट हटाएर करा शिक्षक दिनेश कुमार गुप्तालाई निमित्त प्रधानाध्यापकको जिम्मा दिएको थियो । राजधानी दैनिकमा खबर छापिएको छ ।