शिक्षकलाई कालोमोसो दलेपछि पोखराको कृषि क्याम्पसमा तालाबन्दी, २२ दिनपछि खुल्यो

पोखरा, बैशाख १२ ।
प्राध्यापकलाई कालोमोसो दलेको विरोधमा नेविसंघका विद्यार्थीले पुरुञ्चौरमा लगाएको ताला विहिबार खुलेको छ । केही समयअघि रामपुर कृषि क्याम्पसमा विद्यार्थीले प्राध्यापक माथी कालोमोसो दलेर अभद्र व्यवहार गरेको भन्दै त्यसको विरोधमा दोषीलाई कारबाही माग गर्दै नेविसंघले कलेजमा ताला लगाएको हो ।

तालाबन्दी २२ दिनपछि विहिबार खुलेको छ । प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरुन्चौरको क्याम्पस संचालक समितिको बैठक बसेर क्याम्पस खुलाउन पहल गरेपछि विहिबार सहमतिमै खोलिएको नेविसंघका सभापति सुजन सापकोटाले बताए ।

क्याम्पस प्रमुख चन्द्रेश्वर श्रीवास्तव, नेविसंघ सभापति सापकोटा, नेविसंघ नेता राजीव बास्तोला सहितको उपस्थितिमा ताला खोलिएको हो । ताला खोल्नुअघि नेविसंघले विज्ञप्ती समेत जारी गरेको छ । दोषीलाई कारबाही नगरे पुन आन्दोलनमा उत्रिने विज्ञप्तीमा उल्लेख छ ।