शहीद दिवसमा कास्कीलाई कोशेली, ११ नयाँ शहीद

पोखरा, माघ १६ ।
कास्कीमा यो बर्ष किस्ताबन्दीमा ११ शहीद थपिए । तत्कालीन माओबादी र राज्यपक्षबाट मारिएका ११ जनालाई दुईपटक सम्म सरकारले शहीद घोषणा गरेको छ । केही दिन अघि माओबादीको तर्फबाट मारिएका ८ जना र तत्कालीन पञ्चायत सरकारले मारेको १ गरी ९ जनालाई शहीद घोषणा गरिएको थियो । पर्सिपल्ट पुनः २ जनालाई शहीदको सूचीमा सूचीकृत गरिएको छ । माओबादीले मारेका तत्कालीन राप्रपाका नेताहरुलाई शहीद घोषणा गरिएको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाको प्रश्तावमा बिहिबारको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई शहीद घोषणा गरेको थियो । भोलिपल्ट शुक्रबार पुनः २ जना थपेर दुईदिनमा कास्कीबाट ११ जना पुर्याईएको छ । तत्कालीन सशस्त्र द्धन्द्धका बेला माओबादीबाट मारिएका ८ जना र पञ्चायतकालमा सरकार पक्षबाट मारिएका १ जना गरी ९ जना शहीदको सूचीमा सूचीकृत भएका छन् । साविक सल्यान गाविसका कृष्णबहादुर गुरुङ, साविक घान्द्रुक गाविसका ईश्वर गुरुङ, साविक माछापुच्छ«े गाविसका टेकबहादुर गुरुङ र पूर्णबहादुर भुजेल, साविक मिजुरेडाँडा गाविसका सु. रतनसिंह गुरुङ, साविक लेखनाथ नगरपालिका ५ का चन्द्रबहादुर राजभाट, पोखरा ९ का गणेशमान पालिखे र साविक हंसपुर गाविसका पशुपति रानाभाटलाई शहीद घोषणा गरिएको हो । सशस्त्र द्धन्द्धका बेला उनीहरुलाई विभिन्न समयमा मारिएको थियो ।
सहिदको सूचीमा नाम थप हुनेहरुमा साविक पोखरा उपमहानगरपालिका १८ मनकामना टोल निवासी क्षेत्रबहादुर केसी र हर्कबहादुर गुरुङ रहेका छन् । स्व. केसी राप्रपा कास्कीका जिल्ला अध्यक्ष एवं पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष थिए भने स्व. गुरुङ पार्टीका जिल्ला कोषाध्यक्ष एवं नगरपालिकाका मेयर थिए । प्रजातान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा उनीहरुको २०६१ सालमा तत्कालीन विद्रोही माओवादीद्वारा गोली हानी हत्या गरिएको राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं उद्योग मन्त्री सुनिलबहादुर थापाले जानकारी दिए । कास्कीमा हालसम्म १ सय १३ जना शहीद पुगेका छन् ।