शहीदको सूचीमा २१ जना थपिए (सूचीसहित)

काठमाण्डौं, पुस २८ ।
पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार बिहान शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको छ । धनकुटा जिल्लाकै बासिन्दासमेत रहेका तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पालामा ०३७ साल कात्तिक २७ गते छिन्ताङमा १६ जनाको हत्या भएको थियो । तत्कालीन नेकपा मालेका कार्यकर्ता रहेको आरोपमा उनीहरुलाई पञ्चायती सरकारले डाँडामा लाइन लगाएर गोली हानी सामुहिक हत्या गरेको थियो ।
नेकपा एमालेका नेताहरुले छिन्ताङकाण्ड तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा भएको बताउँदै आएको थियो । तर, अहिलेसम्म एमाले नेताहरु सरकारमा पटक–पटक जाँदा पनि उनीहरुलाई सहीद घोषणा गरिएको थिएन । अन्ततः उनै सूर्यबहादुर थापाका छोरा उद्योगमन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा शुक्रबार मन्त्रिपरिषदले उनीहरुलाई सहीद घोषणा गरेको छ । छिन्ताङ काण्डमा मारिएका मध्ये १५ जनाको पञ्चकन्या डाँडामा सामुहिकरुपमा शालिक बनाइए पनि उनीहरुलाई सरकारले अहिलेसम्म आधिकारिकरुपमा सहीद मानेको थिएन । छिन्ताङमा मारिएकाहरुलाई आफूले शहीद घोषणा गर्ने प्रतिवद्धता गत चुनावमा जनाएको र सोहीअनुरुप मन्त्रिपरिषदमा प्रस्ताव लगेको मन्त्री सुनीलबहादुर थापाले बताए । साथै माओवादी द्वन्द्वमा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँचजना कार्यकर्तालाई पनि पहिलो चरणमा शहीद घोषणा गरिएको र जिल्लाका अन्य शाहदात प्राप्त व्यक्तिहरुलाई पनि क्रमशः शहीदको मान्यता दिइने थापाले बताए ।
कोको बने शहीद ?
सरकारले घोषणा गरेको सहिदको सूचीमा परेका १६ जनामा छिन्ताङ काण्डमा सरकारद्वारा मारिएकामध्ये गोपालआनन्द राई, गंगाबहादुर तुप्रिहाङ राई, भैरबबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, टंकबहादुर (गंगाबहादुर) विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर बिश्वकर्मा, हाङ्खिमा साईली, झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई, गम्भीरमान दर्जी, केशरमान राई र लाखमान साधु राई छन् । त्यसैगरी मन्त्री थापाको प्रस्तावमा शहीद घोषणा गरिएका राप्रपाका ५ कार्यकर्ताहरुमा गोविन्द वालिङ राई (छिन्ताङ), गंगा जोशी (बेलाहारा), रामजी थापा (मुगा) दीपक दाहाल (भीरगाउँ) र राजन भट्टराई (मुगा) छन् ।