व्यवसायीको हितमा काम गर्ने प्रजापति समूहको प्रतिबद्धता

पोखरा, भदौ २० ।
पवनकुमार प्रजापति समूह सोमबार पोखराको वडा नम्बर १४, १५, ११ र ९ का उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेर आफ्नो पक्षमा मत मागेको छ । आसन्न पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका समूहका पदाधिकारीहरु उद्योगी व्यवसायीहरुको घरदैलोमा पुगेका हुन् । संघको जीवन्तता र व्यवसाय विकासका लागि अभियन्ताको नारा लिएर चुनावी मैदानमा आएको यो समूहप्रति उद्योगी व्यवसायीहरुको समर्थन बढ्दै गएको अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले बताए ।

घरदैलोमा पुग्दा समूहलाई उद्योगी व्यवसायीहरुले बलियो आधार भएको समूहको रुपमा लिएको उम्मेदवारहरुले बताएका छन् । उद्योगी व्यवसायीहरुको दरिलो साथ र समर्थन पाईरहेको कारणले पनि आफूलाई अझै बढि हौसला मिलेको अध्यक्ष प्रत्यासी प्रजापतिले बताए । हाम्रो समूहको आधार र कार्ययोजनालाई लिएर उद्योगी व्यवसायीहरु पनि उत्साहित देखिएका छन् । मैले नेतृत्व गरिरहँदा सम्पूर्ण पदाधिकारी र सदस्यहरुको पनि उत्तिकै सहयोग मिलिरहेको छ । त्यसैले हाम्रो समूहलाई यो पटक पक्कै पनि उद्योगी व्यवसायीहरुले निर्वाचित गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । प्रजापतिले भने संघमा रहेर काम गर्ने उत्कट चाहना, सपना र कार्ययोजना नै हाम्रो टिमको जित्ने सबैभन्दा ठुला आधारहरु हुन् ।

घरदैलोमा हिडिरहेको पवनकुमार प्रजापति समूहले उद्योगी व्यवसायीहरुसँग उनीहरुको समस्याको विषयमा पनि जानकारी लिईरहेको छ । मतदाता उद्योगी व्यवसायीहरुसँगै समग्र व्यवासायिक क्षेत्रको विकासका लागि काम गर्ने उद्देश्यसहित आफूहरु अगाडि आएकोले उनीहरुको समस्याको बारेमा प्रस्ट हुनतर्फ आफूहरुले ध्यान केन्द्रित गरिरहेको प्रजापतिले बताए । पछिल्लो समय व्यवसायीहरु विभिन्न कारणले समस्यामा रहेको कुराप्रति आफूहरु सबैभन्दा बढि गम्भिर भएर लागेका छौँ । प्रजापतिले भने त्यसैले तत्काल ती समस्याहरुको समाधानका लागि हामीले कार्ययोजना बनाईरहेका छौँ । विभिन्न १७ बुंदासहित चुनावी मैदानमा होमिएको यो समूहको नेतृत्व गरिरहेका प्रजापतिले कुनै हालतमा संघ र उद्योगी व्यवसायीको पक्षमा काम गर्ने मात्र आफूहरुको दृढ संकल्प रहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा प्रजापति समूहबाट वरिष्ठ उपाध्यक्षमा गोकर्ण कार्की, उपाध्यक्ष उद्योग तर्फ हिरामणी पण्डित, उपाध्यक्ष वाणिज्यतर्फ उत्तममान बुद्धाचार्य, महासचिवमा बलराम आचार्य, कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला र उपमहासचिवमा शोभा गौतमले उम्मेदवारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि प्रभा सुवेदी बालकृष्ण कोईराला, विनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललित कुँवर, सुदिप ओझा र सुदिप प्रधानांग प्रत्यासी छन् ।