व्यवसायिक सहयोग आदान गर्ने सहमति

 

पोखरा, माघ २१ ।

पोखरा चेम्बर अफ कमर्स कास्की र खैरहनी चेम्बर अफ कमर्स चितवनका व्यावसायीक प्रतिनिधि मण्डल बीच सोमबार भेटबार्ता भएको छ ।

भेटघाटको क्रममा दुबै चेम्बर बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान प्रदान गर्ने सहमति भएको पोखरा चेम्बरका अध्यक्ष किसान सुनारले जानकारी दिए । कार्यक्रममा अध्यक्ष सुनारले तिन खम्बे अर्थ नीति अन्तर्गत आर्थिक समृद्धिको लागि नीजी क्षेत्र महत्वपूर्ण खम्बा भूमिका रहेको बताए । उनले सहकारी, निजी र सहकारीको माध्यमबाट नेपालको आर्थिक विकास गर्न सकिने धारणा राखे ।

गण्डकी प्रदेस सरकारले पर्यटनलाई समृद्धिको पहिलो आधार मानेको जानकारी दिदै अध्यक्ष सुनारले पोखरा, चितवन र लुम्बिनीको त्रिकोणात्मक समन्वयबाट पर्यटनको प्रवद्र्धन गर्न सकिने बताए । पोखरा चेम्बरले कास्की जिल्ला स्तरमा काम गरेको भएता पनि पोखरा महानगर स्तरीय समिति नबनेको चर्चा गर्दै उनले महानगरमा ८ वटा इकाई बनाएर काम गरेको जानकारी दिए । अध्यक्ष सुनारले गण्डकी प्रदेश सरकार घरेलु तथा साना उद्योगको कार्यालयको समन्वयमा उद्यमशिलताको काम गरेको बताए ।

कार्यक्रममा खैरहनी चेम्बर अफ कमर्सका अध्यक्ष प्रकास श्रेष्ठले व्यवसायमा आउने समस्या र चुनौतिलाई सामना गर्ने योजनाका साथ चेम्बरले काम गरेको बताए । संस्थाको वार्षिक कार्य योजना निर्माणको क्रममा पोखरा आएको जानकारी दिँदै अध्यक्ष श्रेष्ठले पोखरा चेम्बरको सामुहिक एकता तथा संस्थागत रुपमा भएका गतिविधीबाट धेरै कुरा सिक्न पाएको धारणा राखे ।

कार्यक्रममा चेम्बरका उद्योग तर्फका उपाध्यक्ष गिता तिवारी गौतम र बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, विदेश विभागका प्रमुख रवीबहादुर विक, खैरहनी चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष चन्द्रकुमारी चौधरी, उपाध्यक्ष उत्तम अधिकारी, सचिव केशव लम्साल लगायतले व्यावसायिक हक हित र सहयोग आदान प्रदानको बारेमा मन्तव्य राखेका थिए ।