वेश्यालय चलाउने वडाध्यक्ष सर्वोच्च पुगे

काठमाडौं, माघ १० ।
गाउँका २ सयभन्दा धेरै चेलीलाई भारतका वेश्यालयमा लगेर बिक्री गरेका नुवाकोटका वडाध्यक्ष सुनबहादुर तामाङ सर्वोच्च अदालत पुगेका छन् । चेलिबेटी बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा छोडे पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेपछि त्यसविरुद्ध बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर उनी सर्वोच्च पुगेका हुन् । सुनबहादुरको हकमा प्रदीप तमाङले मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएका थिए। उनको बन्दी मुद्दामा सर्वोच्चले आज सुनुवाइ गर्दैछ । सुनबहादुरको मुद्दा न्यायाधीश तेजबहादुर केसीको एकल इजलाशमा पेशी तोकिएको छ ।
चेलिबेटी बेचविखन जस्तो गम्भीर अपराधमा पक्राउ परेका तामाङलाई माघ ७ गते अदालतले धरौटीमा छाड्ने आदेश दिएको थियो । उनी गत आइतबार काठमाडौं जिल्ला अदालतको आदेशपछि ५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । लगत्तै सिआइबीले अर्को मुद्दामा अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेको थियो। पक्राउ नगरेमा पुनस् भारततिर भाग्ने अवस्था देखिएको भन्दै सिआइबीले तत्कालै नियन्त्रणमा लिएको थियो । जिल्लाले थुनछेक आदेश गर्दै धरौटीमा रिहा गरे पनि प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेको दाबी तामाङका आफन्तको छ। जिल्ला अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै पक्राउ गर्नु गैरकानुनी भएको दाबी उनीहरुले गरेका छन् ।
प्रहरीको अनुसन्धानमा उनले गाउँका २ सयभन्दा धेरै चेलीहरु बम्बई तथा दिल्लीका वेश्यालयहरुमा लगेर बिक्री गरेको खुलेको थियो । एक महिलासँग मिलेर उनी आफैंले पनि दिल्ली र मुम्बईमा वेश्यालय चलाउँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनलाई धरौटीमा छाड्ने आदेश भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन् ।