विश्वका महासागरहरुमा अक्सिजनको कमी, लाखौं समुद्री जीवहरु संकटमा

 

एजेन्सी, मंसिर २२ ।

जलवायु परिवर्तनका कारण विश्वका महासागरहरुमा अक्सिजनको कमी भएपछि लाखौं समुद्री जीवहरु संकटमा परेका छन् ।

प्रकृतिका लागि काम गर्ने समूह आईयुसीयनको एक अध्ययनले हालै एक तथ्यांक सार्वजनिक गर्दै समुद्री जीवहरु संकटमा परेको जनाएको हो ।

जलवायु परिवर्तनकै कारण समुद्रमा पोष तत्वको कमी भएसँगै समुद्री जीवहरु संकटमा परेको तथ्यांकमा औंल्याइएको छ ।

महासागर नजिकको कारखाना र खेतीयोग्य जमिनबाट निस्केको नाइट्रोजन र फोस्फोरस जस्ता रसायनका कारण समुद्रमा रहेका जीवहरु संकटमा परेकोले निकट भविष्यमा हजारौं प्रजातीका माछालगायत अन्य जीवहरु मर्न सक्ने तथ्यांकमा उल्लेख गरिएको छ ।

यसअघि सन् १९६० मा विश्वका ४५ वटा महासागरहरुमा अक्सिजनको कमी भएको पाइएको थियो भने हाल ७ सय वटा महासागरमा अक्सिजनको कमी भएको बताइएको छ ।

हाल महासागरहरुमा बिगत ५० वर्षको तुलनामा अक्सिजनको मात्रा ४० प्रतिशतले कमी आएको पनि तथ्यांकमा उल्लेख छ ।

उत्सर्जनमा रोक नलगाएको खण्डमा सन् २१०० सम्ममा महासागरको अक्सिजनको मात्रामा चार प्रतिशतसम्म कमी आउने शोधकर्ताहरुको चेतावनी छ ।